काठमाडौं । लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएको भन्दै इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई सचेत रहन आग्रह गरेको छ । दूतावासले सूचनामार्फत लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएको भन्दै त्यहाँ भएका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो ।
दूतावासले लेबनानमा काम गरिरहेका नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्धारका लागि नागरिकको विवरण संकलनसमेत सुरु गरेको जनाएको छ । साथै दूतावासले सूचनामार्फत नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
सूचनामा नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको उल्लेख छ ।
यसैगरी लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गराउने उद्देश्यका साथ दूतावासले वेभसाइटमा लेबनानमा रहेका नेपाली नागरिकलाई आफू रहेको ठेगानासहित आवश्यक सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको छ ।
इजरायली आक्रमणमा इरानमा प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका नेता इस्माइल हानिया पनि मारिएका छन् । उनको हत्याको बदला लिइने भन्दै इरानले इजरायललाई चेतावनी दिइसकेको छ । यसले मध्यपूर्वमा द्वन्द्व चर्किने सङ्केत देखिएको छ ।