skip this News Page Tips Ad Road Block

अमेरिकी र इरानी राष्ट्रपतिले युद्ध अन्त्यको लागि हस्ताक्षर गरेकाे १४ बुँदे शान्ति सम्झौतामा के छ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गरे लगत्तै इरानका राष्ट्रपति पेजेस्कियनले तेहरानमा डिजिटल हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र इरानका राष्ट्रपतिले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै विश्वभर नयाँ उत्साह छाएको छ । करिब चार महिना लामो युद्ध समाप्त हुने र रणनीतिकरूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुल्ने निश्चित भएपछि विश्वव्यापी आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । इरानी तेल बजारमा फर्कने र आपूर्ति शृङ्खला सहज हुने आशामा तेलको मूल्य न्यून विन्दुमा झरेको छ । विश्वव्यापी शेयर बजारमा उत्साह थपिएको छ ।

इजरायलसँग मिलेर अमेरिकाले गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै सुरु युद्ध शान्ति सम्झौतामा हस्ताक्षरपछि अन्त्य भएको हो । युद्धकाक्रममा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठूलो जनधनको क्षति बेहोरेको छ भने अमेरिकाले पनि विभिन्न देशमा रहेका आफ्ना दूताबास एवं संरचनामा क्षति बेहोर्न पुगेको छ ।

बीबीसी लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार यस्ता छन् शान्ति सम्झौताका १४ मुख्य बुँदाहरुः

१. लेबनानलगायत सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने ।

२. एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।

३. अधिकतम ६० दिनभित्र वार्ता गरी विस्तृत सम्झौता गर्ने । म्याद थप गर्न सकिने ।

४. युद्धपूर्वकै अवस्थामा जहाजहरूको आवतजावत पुनः सुचारु गर्ने ।

५. पर्सियन खाडीबाट ओमानको समुद्रसम्म ६० दिनसम्म बिनाशुल्क व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने ।

६. इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा तीन सय अर्ब अमेरिकी डलरको निश्चित योजना विकास गर्ने ।

७. संयुक्त राष्ट्रसङ्घका प्रस्तावसहित इरानविरुद्धका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने ।

८. इरानले आणविक हतियार खरिद वा विकास नगर्ने प्रतिबद्धता पुनः गर्ने ।

९–१०. अन्तिम सम्झौता नभएसम्म इरानको आणविक कार्यक्रम र अमेरिकाको सेना परिचालन यथास्थितिमा रहने ।

११. इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ र सम्बद्ध बैङ्किङ/बीमा सेवाहरूका लागि अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने ।

१२. यो शान्ति सम्झौताको कार्यान्वयनसँगै इरानको रोक्का रहेका सम्पूर्ण कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने ।

१३-१४. शान्ति सम्झौताको कार्यान्वयन र भविष्यको सम्झौताको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने । थप वार्ता गरेर अन्तिम सम्झौतामा पुग्ने ।

Health Tips Ad Road Block