काठमाडौं । विगत तीन महिनाभन्दा लामो समयदेखि युद्धरत इरान र अमेरिकाबीच युद्ध अन्त्यको सहमतिको खबरपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ । दुई पक्षले जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा त्यसको प्रभाव देखिन थालेको हो । सहमतिका खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको विवरण आएका छन् ।
युद्ध अन्त्यका लागि मध्यस्थता गर्दै आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताएका छन् । बीबीसीले शरिफलाई उदृत गर्दै लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ ।
यता इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । शरिफलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दुई पक्षबीचको सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुनेछ ।
इरान र अमेरिकाबीच सहमति भएको घोषणा गरिएपनि कुन–कुन विषयमा सम्झौता भएको भन्नेबारे भने खुलाइएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि तेलको आपूर्ति पुनः सुरु हुने बताएका छन् ।
अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि हमला सुरु गरेका थिए । जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्नुका साथै विश्वभरका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो ।
यसअघि पनि अमेरिका र इरानबीच गत अप्रिलमा दुई साताका लागि युद्धविराममा सहमति भएको थियो । उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए ।
युद्ध चर्किएर तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने प्रक्षेपण भइरहेका बेला सहमतिको खबरपछि विश्लेषकहरुले कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ७० डलर देखि ७५ डलरसम्म आइपुग्नसक्ने अनुमान गरेका छन् ।





















