skip this News Page Tips Ad Road Block

११ जिल्लामा फैलियो बर्ड फ्लु, सतर्कता अपनाउन सरकारी आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशभर ११ जिल्लामा बर्ड फ्लु रोग फैलिएको छ । चैत ४ गते देखि मोरङ जिल्लामा बर्ड फ्लु फैलिएको थियो । त्यसपश्चात हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक गरी ११ जिल्लाका कुल ८२ स्थानमा यो रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

बर्ड फ्लु रोग र भएका नियन्त्रणका प्रयासहरुः

बर्ड फ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भए‌को संक्रामक रोग हो। विगत तीन महिनादेखि नेपालका विभिन्न स्थानमा बर्ड फ्लु रोग देखा परेको छ । यो रोगलाई तत्काल नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहने गरी बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखा परेको क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रणको प्रयास भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म भएका नियन्त्रण तथा निवारणका कार्यहरूः

–वर्ड फ्लु रोगबाट प्रभावित ५,६९,८५८ वटा पन्छी नष्ट गरिएको र सो क्रममा, ९,८९,३१३ बटा अण्डा र १,९५,४८५ केजी दाना समेत नष्ट गरिएको।

–गृह मन्त्रालयसँगको समन्वयमा कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाइएकोमा हाल रोग नियन्त्रणमा आए पश्चात सोलाई खुकुलो बनाइएको।

–पशु क्वारेन्टाइन कार्यालयहरू उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शंकास्पद पन्छीहरू नष्ट गरिएको।

–केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरु र राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा रोगको शीघ्र निदानकार्यलाई प्रभावकारी बनाइएको । प्रयोगशाला परीक्षणमा रोग पुष्टि हुनासाथ जोखिम मूल्याङ्कन गर्न तत्काल आकस्मिक रोग अन्वेषण टोली परिचालन गरिएको तथा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा द्रुत कार्यदल टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको।

–रोग नियन्त्रणको पछिल्लो अवस्थामा कोशी प्रदेशमा देखिएको रोग हाल पूर्ण नियन्त्रणमा आइसकेको छ। रोगको प्रकोप हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा देखापर्ने क्रममा वृद्धि भएको छ।
देशमा देखा परेको बर्ड फ्लु रोग भाइरसको सिक्वेन्सिङ गरी गुण परिवर्तन भए/नभएको एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा आवश्यक कार्य शुरुवात गरिसकिएको छ।

विभागका महानिर्देशक डा.उमेश दाहालका अनुसार समग्रमा देशका ७७ जिल्लामध्ये ११ जिल्लामा रोग फैलिएको छ । उनले कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) तथा अन्य प्रभावित जिल्ला बारा, महोत्तरी, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको जनाएका छन् । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र काभ्रेपलाञ्चोक जिल्लाका केही स्थानमा हाल यो रोगको प्रकोप देखापरिरहेको भन्दै यस सन्दर्भमा ध्यान दिन र सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।

–फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्ने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनपर्ने भएमा पूर्ण निःसंक्रमण गरेर मात्र भित्र्याउनुहुन ।

–काग लगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी धुनेर पन्छीपालन गर्नु/गराउनहुन।

–पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउनु हुन।

–हाल प्रयोगशालामा प्राप्त नमूना परीक्षण गर्दा वर्ल्ड फ्लु रोग बाहेक लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत, इ–कोलाई लगायतको संक्रमण समेत धेरै पन्छीमा देखा परेको सन्दर्भमा यस्ता रोगका कारण समेत पन्छीमा मृत्युदर उच्च हुन सक्ने हुँदा नियमित खोप लगाउने तथा संक्रमण पुष्टि भएको अवस्थामा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरी फार्ममा निसंक्रमण गरी प्राविधिकको सल्लाहअनुसार आवश्यक नियन्त्रण विधि अवलम्बन गर्न गराउनुहुन।

विभागले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वभाविक रुपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउन अनुरोध गर्दै यो रोग नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरुको सहयोगको अनुरोध गरेको छ ।

Health Tips Ad Road Block