skip this News Page Tips Ad Road Block

पेनाल्टी नै मिस गर्ने मेसीको विश्वकपमा कीर्तिमान नै कीर्तिमान

Citizenlife ad 2082 falgun to baishak 2083

तस्विरः फिफा वर्ल्डकप

काठमाडौं । लिओनल मेसी । हालसम्मका विश्वकपमा सर्वाधिक खेल खेल्नेदेखि सर्वाधिक खेल जित्ने, सर्वाधिक गोल्डेन बल जित्ने लगायतका कीर्तिमान मेसीले बनाइसकेका छन् । उनले पेनाल्टी मिस गर्ने खेलाडीको पनि कीर्तिमान बनाएका छन् । उनले खेलेका विश्वकपमै ३ पेनाल्टी मिस गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ७ वटा पेनाल्टीमा उनी तीनचोटी असफल भएका हुन् ।

गएराति पनि यहि दृष्य देखियो र मेसीका फ्यान तथा खेलप्रेमी निराश भए । सोमबार राति अर्जेन्टिना र अस्ट्रियाबीचको विश्वकप खेलमा सम्पूर्ण फुटबल जगतको नजर मेसीमा थियो । मेसी विश्वकप इतिहासकै एकल सर्वाधिक गोलकर्ता बन्ने अपेक्षा धेरैको थियो । तर‚ खेलको सुरुमै अर्जेन्टिनी कप्तानले अप्रत्याशित रूपमा पेनाल्टी अवसर खेर फालेपछि दर्शकमाझ दुर्लभ दृष्य देखा पर्यो । पेनाल्टीमा मेसीको प्रहार गोलपोस्टभन्दा बाहिर गयो ।

यति हुँदा हुँदै पनि मेसी नयाँ कीर्तिमानको पछि होइन कीर्तिमान नै मेसीको लागि पछि लागिरहेको जस्तो देखियो । उनले यही खेलमै फिफा विश्वकपको ९६ वर्षे इतिहासमा सर्वाधिक सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए । सोमबार राति डालास स्टेडियममा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै मेसी विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडी बनेका छन् । यसअघि जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका मेसीले लगत्तै अर्को खेलमा क्लोजको कीर्तिमान भंग गर्दे एकल कीर्तिमान बनाए । अस्ट्रियाविरुद्ध ३८ औं मिनेटमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए भने इन्जुरी टाइममा दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गर । सँगै आफ्नो नयाँ नयाँ कीर्तिमान थपिरहे ।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका मेसीले छैटौं विश्वकपमा आएर सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन् । अब त मेसीले गर्ने हरेक गोल कीर्तिमान बन्ने अवस्थामा पुगेको छ । अल्जेरिया विरुद्ध उनले आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक गरेका थिए । यस्तै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी समेत बने । यसअघि क्रिस्टियानो रोनाल्डोले ३३ वर्षको उमेरमा ह्याट्रिक गरेका थिए भने मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने कीर्तिमान बनाए । अस्ट्रिया विरुद्ध गोलपछि उनी विश्वकपको सर्वाधिक गोलकर्ता मात्र बनेनन् विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत बने । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ र ब्राजिलका जर्जिन्होले सन् १९७० मा लगातार ६ खेलमा गोल गरेका थिए । मेसीले सन् २०२२ को कतार विश्वकपमा लगातार चार र २०२६ को विश्वकपमा लगातार दुई गरी लगातार ६ खेलमा गोल गरेका हुन् । चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउँदा मेसीले फाइनलमा २ गोल गरेका थिए । उनले समूह चरणको सुरुवाती दुई खेलमा साउदी अरेबिया र मेक्सिको विरुद्ध गोल गरेका थिए । त्यसपछि पोल्यान्ड विरुद्ध गोल नगरेपनि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा लगातार गोल गरे । यस्तै मेसीले विश्वकपमा समूह चरणदेखि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म सबै चरणमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

उनले लगातार छैटौं पटक विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । यस विश्वकपमा मेसीपछि क्रिस्टियानो रोनाल्डो पनि लगातार छैटौं पटक विश्वकप खेल्ने खेलाडी बनेका छन् ।

यस्तै विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि मेसीकै नाममा छ । सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्स विरुद्ध खेलेर उनले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका थिए । यस संस्करणकाे समूह चरणको दुई खेल खेलेपछि विश्वकपमा उनको खेल संख्या २८ पुगेको छ ।

मेसीले एक पटक विश्वकप जितेर आफ्नो करियरलाई पनि पूर्ण बनाइसकेका छन् । त्यस्तै उनले व्यक्तिगत अवार्डमा पनि कीर्तिमान राखेका छन् । मेसी विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने एक्ला खेलाडी समेत हुन् । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याएर उपाधि जित्न नसकेपनि मेसीले गोल्डेन बल जितेका थिए भने २०२२ मा विश्वकप उपाधि सँगै गोल्डेन बल अवार्ड समेत जितेका थिए । यस्तै मेसीले विश्वकपमा सर्वाधिक १२ प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका छन् ।

मेसीले २३औं संस्करणको विश्वकपमा दुई खेलमै ५ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा अगाडि छन् । उनले विश्वकपमा जित्न बाँकी अवार्ड गोल्डेन बुट पनि हो ।

Health Tips Ad Road Block