skip this News Page Tips Ad Road Block

बैदेशिक रोजगारबाट फर्केकाहरुको पुनः एकीकरणसम्बन्धी निर्देशिका–२०८३ बारे काठमाडौंमा छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । नेपाल नगरपालिका संघको आयोजना तथा हेल्भेटास, रेमी लगायत परियोजनाको प्राविधिक सहयोगमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण कार्यक्रम (संचालन तथा व्यवस्थापन) सम्बन्धी निर्देशकिका–२०८३ मा काठमाडौंमा छनलफल भएको छ । दुई दिनसम्म निर्देशिकामा तीनै तहका सरकार र सरोकारवालाबीच छलफल भएको हो ।

तहगत सरकार र सरोकारवालाहरुले स्थानीय स्तरमा रोजगारीका अवसरहरु सृजना गर्न मुख्यरुपमा जोड दिएका छन् । नगरपालिकाकाहरुले नागरिकहरुको सुरक्षा, हित तथा कल्याणमा टेवा पुर्याउँदै फर्किएका व्यक्तिको सीप, अनुभव तथा पूँजीलाई उद्यमशीलतामार्फत् स्थानीय उत्पादनमा जोडी रोजगारीका अवसरहरु अभिवृद्धि गर्दै लैजानुपर्ने सहभागीहरुको धारणा छ ।

त्यस्तै वैदेशिक रोजगारीमा संलग्न व्यक्ति तथा परिवारको सुरक्षा, हित तथा कल्याणमा सहयोग गर्न, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको क्षमता अभिवृद्धि एवम् उद्यमशीलता विकास गरी स्थानीय स्तरमा रोजगारीका अवसरहरु सृजना गर्न वैदेशिक रोजगार सम्बन्धी ऐन, निती, नियम, कार्यविधि, निर्देशिका, अन्तर मन्त्रालय समन्वय र सहकार्य लगायतका विषयमा सहभागीको जोड रहेको छ ।

कार्यक्रममा सांसद एवं उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहवर अन्सारीले श्रमिकको सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले व्यक्तिहरु आफ्नो घर परिवार पाल्न र जिविकोपार्जनका लागि मात्रै वैदेशिक रोजगारमा जाने विश्वभरकाे प्रचलन रहेकाे भन्दै विदेशबाट फर्किएका सबै उद्यमी नबन्ने ठोकुवा गरे । उद्यमीले जोखिम लिएर छलाङ मार्न खोज्ने हुन्छन् तर वैदेशिक रोजगारबाट फर्किएकाहरु त्यो जोखिम लिन चाहन्नन्, उनीहरु सुरक्षा चाहन्छन् । अनुभव, सिप र पुँजी ल्याउने वैदेशिक रोजगारमा गएकाहरुको सदुपयोग गर्न सबै मिलेर लाग्नुपर्ने उनकाे भनाइ छ ।

कार्यक्रममा सभापतिको मन्तव्य राख्दै कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले विदेश पठाएकाहरुको बारेमा सोच्दासोच्दै फर्किएकाहरुको बारेमा सोच्न नसकेको स्विकार गरे । उनले गाउँपालिका र नगरपालिकाले वैदेशिक रोजगारमा गएका र फर्किएकाहरूकाे  तथ्याँक राख्नुपर्ने आवश्यकता औंल्याए । त्यसबाट अध्ययन अनुसन्धान गर्नुपर्ने उनकाे धारणा छ । वैदेशिक रोजगारीमा गएकाहरुले ९७ प्रतिशतभन्दा बढी उपभोगमै खर्च गर्ने गरेको कतिपय तथ्याँकले देखाएको भन्दै उनले बचत र लगानीतर्फ आकिर्षत गर्ने कार्यक्रम अगाडि बढाउनुपर्ने भनाइ राखे । राज्यले योजना बनाउँदा नै वैदेशिक राेजगारबाट फर्किएकाहरुलाई उद्यमशील बनाउनेतर्फ सोच्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा संघीय सांसदहरु, नेपाल सरकारका पूर्वसचिवहरु, विभिन्न प्रदेशका सचिव एवं प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार एवंम् वैदेशिक रोजगारमा काम गर्ने सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

सहभागी वक्ताहरुले विभिन्न प्रस्तुतिका क्रममा साना साना विषयलाई स्थानीय सरकार, मध्यम तहका विषयलाई प्रदेश सरकार र ठूला विषयलाई संघ सरकारले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

Health Tips Ad Road Block