काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका संघीय संसद्, प्रतिनिधिसभाका सदस्य एवं कीर्तिमानी आरोही मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।
संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थिति रहेको थियो।
आरोही शेर्पाले वि.सं. २०८३ साल जेठ १३ गते (मे २७, २०२६) बिहान ५ बजेर ४० मिनेटमा संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद भएको बताइएको छ । शेर्पाको यो सगरमाथाको दशौँ सफल आरोहणसमेत हो।
सम्मान ग्रहणपश्चात् मिङ्गा ग्याबु शेर्पाले आफ्नो सगरमाथा आरोहण अनुभव तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित विविध विषयमा राखेको विचार यस्तो छ
हिमाल आरोहण मेरो लागि कुनै नौलो विषय होइन। यो सगरमाथाको दशौँ पटकको आरोहण अनुभव हो। साथै, ८,००० मिटरभन्दा माथिका हिमालहरूको ३६ औँ पटक आरोहण गरेको अनुभव पनि मसँग छ। संसारभरिका ६,००० र ७,००० मिटरभन्दा माथिका गरी करिब ७० वटा हिमालको सफल आरोहण गरिसकेको छु।
सन् २००८ मा सगरमाथालाई नजिकबाट हेर्ने अवसर पाएको थिएँ। त्यसबेला म सगरमाथा क्षेत्रमा भरियाको रूपमा गएको थिएँ। सगरमाथालाई नजिकबाट देखेपछि नेपालमै बसेर केही गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो र त्यसैबाट प्रेरित भएर अघि बढ्न थालेँ। सन् २०१० मा मैले पहिलोपटक सगरमाथा आरोहण गर्ने अवसर पाएँ।
यो अवधिमा पाँच वटा फरक गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल भएँ। सयौँभन्दा बढी हिमालमा उद्धार कार्यमा संलग्न भएँ। साथै, ‘१४ पिक्स’ लगायत हिमालसँग सम्बन्धित थुप्रै डकुमेन्ट्रीमा काम गर्ने अवसर पाएँ, जसबाट संसारलाई नेपाल र नेपालको पर्वतारोहणबारे चिनाउने अवसर प्राप्त भयो।
संघीय संसद्को सदस्य बनेपछि संसद्को गरिमा र संसद्को लोगो अंकित झण्डालाई सगरमाथाको शिखरमा पुर्याउने इच्छा जाग्यो। त्यसका लागि मैले सम्माननीय सभामुखज्यूलाई अनुरोध गरेँ र उहाँले सहर्ष स्वीकार गर्नुभयो।
हरेक नेपालीका लागि सगरमाथा केवल हिमाल मात्र होइन, यो हाम्रो अस्तित्व, गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो। सगरमाथा आरोहण, जलवायु परिवर्तन वा कुनै दुर्घटनासम्बन्धी विषय संसारभर समाचार बन्ने गर्छन्। भाग्यवश, हामीजस्ता साधारण गाउँबाट आएका व्यक्तिहरूलाई पनि सगरमाथाले देशमै रहेर काम गर्ने र रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरेको छ भन्ने मैले महसुस गरेको छु।
दशौँ पटक सगरमाथा आरोहण गर्दा मैले केही समस्या र तिनका सम्भावित समाधानका विषयहरू पनि देखेको छु। विगत चार वर्षदेखि नेपालको पर्वतारोहण क्षेत्रमा विश्वव्यापी आकर्षण बढिरहेको छ। नेपाली युवाहरूमा पनि पर्वतारोहणप्रति रुचि बढेको छ। तर दक्ष जनशक्ति उत्पादनका लागि राज्यको लगानी अपेक्षाकृत कम रहेको छ।
मैले पनि सन् २०१० मा सामान्य आधारभूत तालिम लिएर सगरमाथा आरोहण सुरु गरेको थिएँ। पछिल्लो समय पर्वतारोहणसम्बन्धी तालिमहरू केही कम हुँदै गएको देखिन्छ। सगरमाथामा बढ्दो फोहोरका कारण नेपाल विश्व समाचारमा आउने गरेको छ। यस विषयमा पनि गम्भीर ध्यान दिन आवश्यक छ।
दक्ष जनशक्ति उत्पादन, वातावरण संरक्षण र जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता हो। जलवायु परिवर्तनले सगरमाथालाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रभावित गरिरहेको छ। पछिल्ला वर्षहरूमा काठमाडौंमा आएको बाढी तथा दुबईजस्ता स्थानमा अत्यधिक वर्षाका कारण भएको डुबान यसका उदाहरण हुन्। पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले यसको प्रत्यक्ष असर भोगिरहेका छन्।
नेपालसँग सगरमाथासहित ८,००० मिटरभन्दा माथिका थुप्रै हिमालहरू छन्, जुन प्रकृतिले दिएको अमूल्य सम्पदा हुन्। केही समयअघि नेपालमा ‘फेक रेस्क्यु’ सम्बन्धी समाचार विश्वभर फैलिएको थियो। त्यसैले उद्धार व्यवस्थापन र नियमनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ।
संसारले ‘नेपाल राम्रो छ’ भन्ने कुरा त जान्दछ, तर ‘नेपाल सुरक्षित पनि छ’ भन्ने अनुभूति दिलाउन सकियो भने नेपालको पर्यटन क्षेत्र अझ सुदृढ हुनेछ। नेपाल भ्रमणमा आउने पर्यटकहरूले सुरक्षित महसुस गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्नेछ भन्ने मेरो विश्वास छ।
अन्तमा, पर्वतारोहण क्षेत्रमा मेरो लामो योगदानको कदर गर्दै तथा नेपालको राष्ट्रिय झण्डा र संघीय संसद्को झण्डा सगरमाथाको शिखरमा पुर्याउने मेरो चाहनालाई सहर्ष स्वीकार गरी सहयोग गर्नुहुने यहाँहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
सगरमाथाको शिखरमा पुर्याइएको संघीय संसद्को लोगो अंकित झण्डा तथा नेपालको राष्ट्रिय झण्डा म यहाँहरूलाई हस्तान्तरण गर्न चाहन्छु।





















