skip this News Page Tips Ad Road Block

काठमाडौँमा पानीको प्राकृतिक स्रोत जोगाउनुपर्ने आवश्यकता !

काठमाडौँ । काठमाडौँमा खानेपानीका लागि टाढाटाढाबाट ल्याइएको पानी वितरण प्रणालीमा मात्र भर पर्नु नहुने सुझाव दिँदै वातावरण तथा जलप्रणाली विज्ञहरुले ‘आकाशे पानी संकलन’ र ‘जमिनमा पानी पुनभरण प्रणाली’लाई सक्रिय बनाउनु पर्ने सुझाव दिएका छन् । काठमाडौँ महानगरपालिकाभित्र पानीको अभाव हुन नदिन तथा ब्लु ल्याण्डस्केपमा आधारित प्रणाली बचाउन महानगरपालिकाले कस्ता कार्यक्रम तर्जुमा गर्नुपर्छ ? तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन विधिमा आन्तरिक तथा वाह्य समन्वय र सहभागिताको ढाँचा कस्तो हुन सक्छ ? विषयमा परामर्शका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आयोजना गरेको बैठकमा विज्ञहरुबाट यस्तो सुझाव आएको हो ।

बैठकमा विज्ञसहित महानगरपालिकाको सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, सम्पदा तथा पर्यटन विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभागका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । यी विभागहरु सार्वजनिक पूर्वाधार निर्माण, भवन निर्माण, स्वच्छता तथा हरियाली प्रवर्धन, सूचना, शिक्षा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित छन् । यी क्षेत्र आकाशे पानी संकलन तथा जमिन पुनभरणसँग सम्बन्ध राख्छन् । सबै विभागलाई एकै ठाउँमा राखेपछि आन्तरिक समन्वय बलियो हुने भएकोले अधिकारीहरुलाई बैठकमा सहभागी गराइएको हो ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘काठमाडौँमा घट्दै गइरहेको पानीको सतहलाई पहिले स्थिर बनाऔँ । त्यसपछि यसलाई बढाऔँ । यसका लागि कार्यालयको काम नभइ आफ्नै काम हो । आफ्नै काम हो भन्ने ठानेर एकीकृत र समन्वयात्मक रुपमा काम गरौँ । सरकार, नागरिक र नागरिक समाजका अनिवार्य दायित्व एकिन गरौँ । सबैका दायित्वबाट दिगो नतिजा प्राप्त हुने संयन्त्रमा काम गरौँ ।’

उनले भनिन्, ‘यो इच्छा लागे गर्ने वा इच्छा नलागे नगरे पनि हुने हुँदै होइन । जैविक विविधता, वातावरणीय सन्तुलन, सहरमा मानव सभ्यता र जीवनलाई सहज बनाउन अनिवार्य रुपमा गर्नु पर्ने दायित्व हो ।’ उनले जल प्रणाली जोगाउन महानगरपालिकाले पुरा गर्नु पर्ने दायित्वमा सहरी योजना आयोग र सम्बन्धित विभागहरुले निकट समन्वय संयन्त्र बनाएर नतिजामुखी काम गर्न निर्देशन दिइन् ।

जल सम्पदाको संरक्षणका लागि यसअघि सहरी योजना आयोगबाट गरिएका अध्ययनका सुझावहरुको निष्कर्षको विश्लेषण र आवश्यकताका आधार थप अध्ययनका लागि काम गर्नेछौँ । बैठकमा आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले योजना सुनाए ।

त्यस क्रममा हिति विज्ञ पद्मसुन्दर जोशीले भने, ‘काठमाडौँको जमिनमुनि कालो माटोको सतह छ । पानीलाई प्राकृतिक रुपमा सञ्चय गर्न यस्तो अवस्थिति अत्यन्त प्रभावकारी हुन्छ । यसप्रकारको भूवनावट संसारका थोरै मात्र सहरमा पाइन्छ । काठमाडौँमा जलभण्डारको संरक्षण गर्न यो भौगोलिक अवस्थितिको सम्भावनालाई पूर्ण उपयोग गरौँ ।’ उनले काठमाडौँमा पानी प्रणालीको कुरा गर्दै भने, ‘२७ किलोमिटर लामो सुरुङ मार्गबाट ल्याइएको पानी कुनै प्राविधिक कारणले आउन नसक्ने दिनमा काठमाडौँमा पानीको ठूलो अभाव हुन सक्छ । फेरि, विश्व अहिले जलवायु परिवर्तनको ठुलो संघर्षमा छ । यसको प्रभाव पानी वितरण प्रणालीमा पनि पर्न सक्छ । यस्ता अवस्थाले सिर्जना हुने अभावका समयमा जनजीवनलाई सहज बनाइ राख्न वैकल्पिक पानीको उपलब्धता योजना बनाउनु पर्छ । त्यो भनेको आकाशे पानी संकलन र जमिनमा पानी पुनभरण प्रणालीका सक्रियताका साथ काम गर्नु नै हो ।’

उनले पानी उपलब्ध हुनु र गुणस्तरीय पानी उपलब्ध हुनुका बिचमा गहिरो भिन्नता भएको बताउँदै कार्यक्रम तर्जुमा गर्दा गुणस्तरीयतालाई ध्यान दिन आग्रह गरे । ‘डिप बोरिङ् निषेधका लागि काठमाडौँ महानगरपालिकाले निर्णय गर्न ढिला गर्नुहुँदैन । डिप बोरिङ रोकियो भने मात्र पनि जल भण्डारण बचाउन ठुलो योगदान हुनेछ ।’ जोशीको भनाइ थियो ।

बैठकमा पानी पुनभरण गर्दा सडकमा भएको पानी जमिनमुनि पठाउँदा सहरमा छरिएका रसायन जमिनमुनि छिर्ने भएकोले जमिन मुनिको प्राकृतिक अवस्थालाई नकारात्मक प्रभाव नहुने विधिबाट पुनभरण गर्नु पर्ने सुझाव दिइएको छ ।

बैठकमा सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, जल संरक्षणविज्ञ इञ्जिनियर विश्वप्रकाश अमात्य, विभागीय प्रमुखहरु, जलविज्ञ सुदर्शन राजभण्डारी र सहरी योजनाकार जोशीले, पानी पुनभरण गर्दा आवश्यक पर्ने संरचना र प्राविधिक ज्ञान, महानगरपालिकाले अहिले गरिरहेका कार्यक्रम, यसलाई प्रभावकारी बनाउन नागरिक प्रोत्साहन, कार्यक्रमको नियमन, अनुगमन र मूल्याङ्कन प्रणाली, यी कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी लिने विभाग, निकायका विषयमा धारणा राखेका थिए । विगतमा प्राप्त गरेका ज्ञान, सिप र अनुभव संग्रह गर्दै आगामी दिशा तय गर्नु पर्नेमा अधिकारीहरुको जोड थियो ।

पानीसँग सम्बन्धित डुवान, खानेपानीको अभाव, तरल फोहर उत्पादन र प्रशोधन प्रणाली, यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्ष छलफलमा उठेका थिए ।

Health Tips Ad Road Block