skip this News Page Tips Ad Road Block

प्रम बालेनको भनाइप्रति एकीकृत ट्रेड यूनियन महासंघ नेपालको आपति, उठायो नेपालको सीमा मिचिएको तथ्यगत बुँदा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एकीकृत ट्रेड यूनियन महासंघ नेपालले प्रधानमन्त्री बालेन्द्र साहले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा बोल्दा नेपालको सीमा र राष्ट्रिय स्वाधीनताको समेत ख्याल नगरि नेपालले समेत भारतको जग्गा मिचेको छ भनेर दिएको अभिव्यक्तिप्रति आपति जनाएको छ । प्रधानमन्त्रीले राष्ट्र‌हित विपरित, गैरजिम्मेवार, अत्यन्त गम्भीर र राष्ट्र विरोधी अक्षम्य अभिव्यक्ति दिएको भन्दै महासंघले आपति जनाएको हो ।

महासंघका महासचिव दिपक पौडेलद्धारा जारी विज्ञप्तिमा संसदको रोष्टममा उभिएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै भनिएको छ ‘विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो। प्रधानमन्त्रीले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन्। देशको प्रधानमन्त्री जस्तो व्यक्तिको अभिव्यक्तिले नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको छ। राष्ट्र विरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री कुर्सीमा बसिरहन सुहाउँदैन। यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले नेपाली जनतासँग संसदको त्यही रोष्टममा उभिएर माफी माग्नु पर्छ। हाम्रो महासंघ यस्तो गैरजिम्मेवार अभिव्यक्तिको विरोध र घोर भत्सर्ना गर्दछ। देशभक्त जनता र शक्तिहरुलाई एक भए विरोध गर्न हाम्रो महासंघ जोडदार आग्रह गर्दछ ।’

महासंघले हामी नेपाली जनता युगौंदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आए‌को भन्दै अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको जनाएको छ।

विभिन्न तथ्यहरु सार्वजनिक गर्दै महासंघले नेपालका विभिन्न ठाउँहरूमा सीमा मिचिएको बताएको छ ।

महासंघले उठााएका तथ्यहरु यस्ताा छन्ः

१. महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै भएकाले सो क्षेत्रमा पर्ने गुञ्जी, नाभी र कुटी लगायतका गाउँहरू नेपालका हुन् र यो करिब ३ सय ३५ देखि ३ सय ७० वर्ग किलोमिटर भूभाग हाल भारतको नियन्त्रणमा छ।

२. सन् १९६२ को भारत–चीन युद्धदेखि नै भारतीय सेना बस्दै आएको कालापानी र नेपालको अनुमतिविना भारतले चीनसँग व्यापारिक सडक जोडेको रणनीतिक हिमाली भन्ज्याङ लिपुलेकमा नेपालको ऐतिहासिक र कानुनी दाबी अकाट्य छ।

३. नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले धार परिवर्तन गरेपछि भारतले सीमा मिचेको छ, जहाँ झण्डै १४ हजार हेक्टर (१४० वर्ग किलोमिटर) भन्दा बढी नेपाली भूमि विवादमा पारिएको छ।

४. सुस्ता र कालापानीबाहेक झापा, इलाम, कञ्चनपुर, कैलाली, बदिया र दाङ जस्ता २६ भन्दा बढी सीमावर्ती जिल्लाहरूमा नदीले धार परिवर्तन गर्दा वा जड्ङ्गे पिलरहरू भत्किंदा र सारिंदा नेपाली भूमि मिचिएको बारेमा नेपालको निरन्तरको कूटनीतिक दाबी रहेको छ ।

नेपाल र भारतबीचको सीमा विवाद सुगौली सन्धिदेखिकै ऐतिहासिक कूटनीतिक जटिलता हो भन्दै महासंघले नेपाल र भारतबीच आपसि कुटनीतिक माध्यमबाट यसको समाधान गरिनुपर्ने जनाएको छ ।

Health Tips Ad Road Block