skip this News Page Tips Ad Road Block

नागढुंगा सुरुङ्गमार्ग उद्घाटन, उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम गर्न मद्दत पुग्ने

काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नेपालकै पहिलो व्यवस्थित सडक यातायात सुरुङ्गमार्ग करिब २९ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा  मन्त्री लम्सालले सुरुङ्गमार्गले काठमाडौं उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम गर्न, यात्रा समय घटाउन र सडक यातायातलाई सुरक्षित तथा सहज बनाउन महत्वपूर्ण योगदान गर्ने बताए ।

सरकारका अनुसार सुरुङ मार्ग पहिलो चरणमा आपतकालीन प्रयोजनका सवारी साधनका लागि सञ्चालनमा ल्याइएको छ । आवश्यक प्राविधिक परीक्षण तथा सञ्चालन व्यवस्थापन पूरा भएपछि निजी तथा सार्वजनिक सवारी साधनलाई पनि चरणबद्ध रूपमा सुरुङ मार्ग प्रयोग गर्न अनुमति दिइने बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक ४ मा काठमाडौंतर्फबाट सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र सुरुङको निर्माण सक्ने लक्ष्य लिइएको थियो । तर स्थानीयको अबरोध र कोभिड लगायतका कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको बताइएको छ ।

त्यस्तै २०८० साल वैशाख ३ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ्गमार्गको ‘ब्रेक थ्रु’ गरिएको थियो ।

यस सुरुङ्गमार्गको मुख्य सुरुङ्गको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङ्गको दूरी २.५५७ किलोमिटर छ ।

सुरुङ्गमार्ग उद्घाटनका क्रममा स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका थिए ।

 

तस्विरः प्रदिपराज वन्त, रासस

Health Tips Ad Road Block