काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको भन्दा सुधार देखिएको छ ।
यस अवधिमा बैंकको खुद नाफा ३८.०१ प्रतिशतले बढेको छ । बैंकले यो चौथो त्रैमासमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोडबाट बढेर ६ अर्ब ९९ करोड पुगेको छ भने संचालन आम्दानी ८ अर्ब ६० करोडबाट बढेर ९ अर्ब ७३ करोड पुगेको छ । कम्पनीको संचालन नाफा ३ अर्ब ५७ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ । यस अवधिमा बैंकको चुक्ता पुँजीको आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा रहेको छ ।
कम्पनीको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा आएको छ । बैंकको प्रतिशेयर आम्दानी बढेर २५.७५ रुपैयाँ पुगेको छ, जुन अघिल्लाे वर्षको सोही अवधिमा १८.९४ रुपैयाँ थियो। नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ । इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत कायम भएको छ ।
बैंकको कुल निक्षेप १०.८४ प्रतिशतले बढेर २४९ अर्ब १३ करोड रुपैयाँ पुगेको सार्वजनिक विवरणमा उल्लेख छ । त्यसैगरी कर्जा प्रवाह ११.१९ प्रतिशतले वृद्धि भई २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्राथमिक पुँजी अनुपात १०.१७ प्रतिशत रहेको छ भने पुँजी कोष अनुपात १३.१० प्रतिशत रहेको छ । यो नियामक निकायले तोकेको सीमा भन्दा बढी र सबल स्थिति हो ।

















