skip this News Page Tips Ad Road Block

अब सहकारीको बचत रकम फिर्ता नगर्ने संस्थाका सञ्चालकलाई विदेश जान प्रतिबन्ध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सहकारी संस्थाको बचत रकम फिर्ता नगर्ने सञ्चालक, कर्मचारी तथा सम्बन्धित व्यक्तिलाई अब विदेश यात्रामा समेत प्रतिबन्ध गरिनेछ । सरकारले सहकारी ऐन–२०७४ लाई संशोधन गर्न बनेको अध्यादेशबाट सरकारले विदेश यात्रामा प्रतिबन्धसँगै सञ्चालक, कर्मचारी तथा सम्बन्धित व्यक्तिको चल अचल सम्पत्ति रोक्का गर्ने कानुनी व्यवस्था गरेको छ ।

अध्यादेश नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ ।

सहकारी ऐनको मूल व्यवस्था संशोधन गरेर नियमन प्राधिकरणको काम, कर्तव्य र अधिकार थप गरिएको हो । प्राधिकरणको सिफारिस अनुसार बचत फिर्ता नगरेमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धको कानुनी व्यवस्था गरिएको हो ।

अध्यादेश अनुसार समस्याग्रस्त घोषणाको सिफारिस गर्नुअघि प्राधिकरणले सम्बन्धित सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, जिम्मेवार कर्मचारी, लेखा सुपरिवेक्षण समितिका सदस्य, ऋण उपसमितिलगायतका व्यक्तिको बैङ्क खाता रोक्का राख्ने पनि कानुनी व्यवस्था गरिएको छ । हिनामिना तथा हानि नोक्सानीमा संलग्न अन्य व्यक्तिको पनि चल अचल सम्पत्ति, बैङ्क खाता, सेयर रोक्का राख्ने तथा विदेश यात्रामा समेत प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ ।

समस्याग्रस्त सहकारी संस्थाको बचत रकम फिर्ता प्रयोजनका लागि नेपाल सरकारले चक्रीय राहत कोष स्थापना गर्ने व्यवस्था अध्यादेशबाट गरिएको छ । कोषमा नेपाल सरकार, सम्बन्धित संस्थाबाट शोधभर्नाबापत फिर्ता भएको रकमसमेत जम्मा हुने छ ।

Health Tips Ad Road Block