तनहुँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा रहेको छ ।
निर्माणाधीन आयोजनाको ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।
आयोजनाको बाँध र विद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
विभिन्न प्याकेजअन्तर्गत फरक फरक हिसाबले काम भइरहेका छन् ।
कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी), जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुनेछ । यसै आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको विकास प्रक्रियासमेत अघि बढाइएको छ ।






















