काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन बुधबार भयो । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पोमा पहिलो दिनमै १५,००० अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ ।
शुभारम्भका अवसरमा अर्थमन्त्री पौडेलले आफूले छोटो भ्रमण गरि हेर्दा एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको पाएको बताएका थिए । स्थापनाको केही महिनामै यति ठूलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता भल्काउने भन्दै उनले प्रदर्शनीको शुभकामना व्यक्त गरे ।
नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । “गुणस्तरीय सडक पूर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई सरकारले महत्व दिएको छ ।,” उनले भने । अर्थमन्त्री पौडेलले भृकुटीमण्डपको प्रदर्शनीस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पारेका थिए । अध्यक्ष वैद्यले भनिन्, “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।” उनले “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।” भनिन् ।
त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले भने, ‘हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनी यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्फकाे सामुहिक प्रतिवद्घताको सुरुवात हो । यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ ।”
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।






















