Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बजेट तथा कार्यक्रम अघि बढाउन निर्देशन,गुणस्तरमा सम्झौता नगर्नु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागको गत आर्थिक वर्षको प्रगती समीक्षा कार्यक्रमलाई संवोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौंला नि’ भन्ने नसोचि बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । आर्थिक वर्ष शुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको शुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम शुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिन ।

‘आर्थिक वर्षको अन्त्य तिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरि काम गर्नुपर्छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो । थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै मन्त्री दाहालले अब शुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन भने ।

गुणस्तरमा सम्झौता नगर्न

निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताए । उनले भने, ‘छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’ वर्षायाम शुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरि श्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिए । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजनाको व्यवस्थापन तर्फ ध्यान दिन समेत आग्रह गरे ।

मन्त्रालयले गत आर्थिक वर्षमा विगत ६ वर्षयताकै उच्च पूँजीगत खर्च गरेको थियो । आर्थिक वर्ष २०८१\८२ मा ६ वर्षयताकै सवैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यस अघिनै जनाई सकेको छ ।
यस्तै सडक विभागका महानिर्देशक डा. विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमहरु कार्यान्वयनको प्रकृयामा ढिलाई नगर्ने बताएका छन् । वर्षको अन्त्यमा चाप पर्न नदिने गरि बेलै देखि काम शुरु गराई छिटो नतिजा निकाल्ने गरि काम गर्न विभाग क्रियाशिल रहेको उनको भनाई छ । यस्तै वर्षाको समयमा सके सम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सके सम्म छिटो खुलाउने गरि संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।

Health Tips Ad Road Block