काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । सोमबार उक्त निर्णय भएको हो ।
आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु.४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गरेका थिए । प्रतिवेदनले चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट संख्या र शुल्क पुनरावलोकनका लागि बाटो खुलेको छ । सोका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा.डा.सुजनबाबुु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको, समितिमा विज्ञका तर्फबाट प्रा.डा. दिव्यासिंह शाह, वरिष्ठ चार्टर एकाउन्टेन्ट महेश गुरागार्ईँ, निजी मेडिकल कलेजका तर्फबाट चार्टर एकाउन्टेन्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरु रहनेछन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले स्रोतको सुनिश्चितता नभएकाले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीको अग्रसरतामा यसबीचमा आयोगका तीन वटा बैठक बसी समाधान निकालिएको बताइएको छ ।
यसैबीच नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघकाे अगुवाईमा जारी आन्दोलन फिर्ता नहुने भएको छ । संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले खातामा पैसा नआएसम्म आन्दोनलबाट फर्किने वातावरण नभएको भन्दै भने, ‘उहाँहरुले दिन्छु मात्रै भन्नुभएको हो, दिनुहुन्छ भन्ने हाम्रो विश्वास छैन । हामीलाई खातामा पैसा हालिदिएर वा निश्चित समयसिमाभित्र दिन्छु भनेर विश्वस्त नबनाएसम्म हामी आन्दोलनबाट फर्किने स्थिति रहँदैन ।’






















