काठमाडौं । बैंक वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौडेलले पछिल्लो समय बैंकिङ क्षेत्रमा जोखिम बढेको बताएका छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरुकोे खराब/निष्क्रिय कर्जा, गैर बैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धि, यसबाट सृजित गम्भीर चुनौती र समाधानका उपयुक्त विकल्पका विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुको व्यापक सहभागितामा ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस विषायक उच्चस्तरीय छलफल तथा अन्तरक्रियामा अध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
‘नेपालको बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शी, गतिशील, सुशासित एवं जिम्मेवार क्षेत्र भएको र विगतका कठिन परिस्थितिहरुलाई समेत सहजै सामना गर्दै अगाडि बढिरहेको भएतापनि कतिपय बाध्यतावश र पछिल्लो समयमा नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः जोखिमपूर्ण बन्दै गएको छ’, उनले भने ।
अहिले बैंक तथा वित्तीय संस्थाहरु विशुद्ध बैंकिङ सेवा तथा गतिविधिहरुमा भन्दा पनि बाध्यतावश कर्जा असूली र गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनतर्फ बढि केन्द्रित हुनुपरेको बताउँदै यसले बैंकिङ क्षेत्रमात्र नभई अर्थतन्त्रमा समेत प्रभाव पारिरहेको हुँदा कर्जा र सम्पत्ति व्यवस्थापनको विषयलाई सार्थकता दिनु अत्यावश्यक रहेको उनको भनाइ रहेको थियो । अध्यक्ष पौडेलले बढ्दै गएको निष्क्रिय कर्जाको व्यवस्थापनमा क्रमशः देखापरेका समस्या र धितोस्वरूप राखिएका सम्पत्तिहरूको बेचबिखन समेत हुन नसकी बैंक तथा वित्तीय संस्थाहरू स्वयंले त्यस्ता सम्पत्तिलाई सकार्नु परिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुसँग पैसाभन्दा पनि अचल सम्पत्ति बढी हुने विडम्बनायुक्त अवस्था सृजना भएको बताएका छन् । यो अवस्थालाई सम्बोधन गर्न र बैक तथा वित्तीय संस्थाहरुलाई विशुद्ध बैंकिङ गतिविधिहरुमा केन्द्रित हुनका लागि पनि सम्पत्ति पुनर्निर्माण कम्पनी आवश्यक रहेको उनको भनाइ छ ।
नेपालको अर्थतन्त्र क्रमशः गतिशिल बन्दै गएको वर्तमान अनुकुल वातावरणमा उपयुक्त संरचना, नीति तथा कार्यादेश, दक्ष जनशक्तिको व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाहरुको समेत लगानीमा अधिकार सम्पन्न सम्पत्ति पुनर्निर्माण कम्पनी स्थापनाका लागि नेपाल सरकारको प्रतिवद्धता र सहयोगसहित नेपाल राष्ट्र बैंक अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । यस्ता कम्पनीको स्थापनाले बैंकिङ प्रणालीको दिगो विकासका लागि मात्र नभई सुदृढ अर्थतन्त्र निर्माणमा समेत ठोस योगदान पुग्ने उनको ठम्याइ रहेको छ ।
नेपालमा संचालिक क, ख र ग वर्गका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/संचालक, प्रमुख कार्यकारी अधिकृत/उच्च व्यवस्थापक, सरोकारवाला संस्थाहरु, विकास साझेदार संस्थाहरु, नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसहितको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।






















