काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण लाइन काटिएको भन्दै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संघले हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणद्वारा बिहीबार रातिदेखि उद्योगहरूको लाइन काटिएको घटनालाई संघले गम्भीररूपमा ध्यानाकर्षण भएको जनाएको हो ।
संघले यस किसिमको निर्णयले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्याउने साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने उल्लेख गरेको छ । विद्युत आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालन कार्यमा अवरोध आई उद्योगको लगानीमा प्रतिकूल असर परेको भन्दै संघले ध्यानाकर्षण गराएको छ । उद्योगीहरूलाई यसले असहज स्थिति सृजना गरेको भन्दै यसको समाधान सबै पक्षले वार्ताद्वारा गर्नुपर्ने माग संघले गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए तापनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको संघको ठहर छ । संघले नेपाल सरकार , नेपाल विद्युत प्राधिकरणसँग काटिएका उद्योगहरूको लाइन तत्काल जडान गर्न, वर्तमान विवादमा उत्पन्न असमझदारीलाई हटाई सबै पक्षहरूलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ ।
यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने संघले विश्वास लिएको संघका अध्यक्ष दिनेश श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।






















