Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयर मार्फत (आईपिओ)बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यान्वयन हुने अन्तिम अवस्थामा पुगेको बताएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारण सभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीले वैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताए ।

अध्यक्ष डा.केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसँगै लगानी भित्र्याउन बाटो खुल्ने बताए । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भने, ‘पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यान्वयनमा आउने अवस्था छ ।’

गैरआवासीय फण्ड स्थापना सन् २००५ मा स–साना लगानी भित्र्याउने कन्सेप्ट शुरु भएको थियो । यसमा सन् २०१९ मा मात्रै सरकारसँग सम्झौता भएको थियो । सन् २०२१ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको हो । कार्यक्रममा एनआरएनए डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा. अनलराज भट्टराईले धितोपत्र बोर्डबाट निर्देशिका जारी भएसँगै प्राथमिक सेयर निष्काशन शुरु गर्ने बताएका छन् । ‘धितोपत्र बोर्डले निर्देशिका जारी गरेपछि ५–६ महिनामा गैरआवासीय नेपालीका लागि आईपीओ जारी गर्न सक्छौं,’ सिइओ भट्टराईले भने, ‘कोषको फण्ड पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिई लगानी गर्ने उद्देश्य छ ।’

नेपाल राष्ट्र बैंककी कार्यवहाक गर्भनर निलम ढुंगानाले राष्ट्र गैरआवासीय नेपालीलाई विदेशी ऋण र लगानी भित्र्याउनका लागि सहजिकरण गरिएको बताएकी छिन् । नेपालमा कर्पोरेट संस्कृतिसँगै पर्याप्त लगानी बढाउनका लागि गैरआवासीय नेपालीले काम गर्न सक्ने ढुंगानाले बताएकी छिन् ।

Health Tips Ad Road Block