मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिक समातिएका छन् । प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र सांगली दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याएको ८ थान बिस्कुट आकारको उक्त तौलको सुन जस्तो देखिने धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने भएको छ ।