हेटौंडा । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त ४५ वटा पालिकालाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
शनिबार हेटौंडामा मुख्यमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षती भएका ७ वटा पालिकालाई २० लाख, १२ वटा पालिकालाई १५ लाख र २६ वटा पालिकालाई १० लाखका दरले रकम दिने निर्णय गरेको हो ।
बाढीपहिरोबाट धेरै क्षति पुगेका काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका लाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा दिने निर्णय भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको बागमती गाउँपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकालाई १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको हो ।
दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखु तामाकोशी, उमाकुण्ड गाउँपालिका, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका मकवानपुरको बकैया गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध, मण्डनदेउपुर नगरपालिका , चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई दश–दश लाख दिने निर्णय भएको हो ।
तत्कालका लागि राहत वितरण लगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने गरी प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित पालिकाको खातामा रकम पठाइने बताइएको छ ।