skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकले गर्यो दक्षिण एसिया क्षेत्र वित्तीय संस्था सफारीको नेतृत्व

काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटीभ(सफारी) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सफारीको अध्यक्ष चयन भएका छन् ।

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलाइन्स फर फाइनान्सियल इन्क्लुजन(एएफआइ) ग्लोबल पोलिसी फोरमको पाँचौं सफारी लिडर्स राउण्डटेबलकाक्रममा सफारीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका थिए ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)लाई सफारीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सफारीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको बाह्रौं बैठकका क्रममा सफारी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुशरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सफारी स्थापना गरिएको थियो ।

Health Tips Ad Road Block