काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा गत बिहीबार महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताएका छन् । ढकालले भविष्यमा आउनसक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।
बैठकमा जेटीटीयुसीसीका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुई पक्षीयरूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ बढाउँदै जान पर्ने जरुरी रहेको बताए ।
यस्तै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्धिपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुई पक्षीय रुपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरुरी रहेको बताए ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निक्र्यौल गरिनुपर्ने विषयमा छलफल, बैठक आयोजना हुनपर्ने कुरालाई जोड दिइन् । साथै दुइपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानुभन्दा अगाडि दुई पक्षका बीच छलफल हुनका साथै अन्तर्राष्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको विषयलाई जोड दिईएको थियो ।