skip this News Page Tips Ad Road Block

स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव सुरुमै विवादमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रकमको दायरा बढाएर कम्तीमा पाँच लाख रुपैयाँ बनाउने प्रस्ताव अघि सारेका छन् । मन्त्री भएपछि केही न केही गर्नुपर्दछ भन्ने हुटहुटी पालेका मन्त्री पौडेलले आइतबार यस विषयमा आफ्ना विषय पत्रकार सम्मेलनमा सुरुमै ओकले ।

उनले मन्त्री भएको एक सातामै केही न केही नयाँ कार्यक्रम लिएर आउँछौं भनेका थियौं त्यो नसकेपनि ढिलै भएपनि नयाँ कार्यक्रमबारे जानकारी गराउन लागेको बताए । मन्त्रालयमा खचाखच पत्रकार र मन्त्रालयका कर्मचारीले भरिएको कार्यक्रममा मन्त्री पौडेलले यो अलिक लामो छ भन्दै आफ्ना योजनाहरु सार्वजनिक गरे । त्यसमध्येको एक मुख्य विषय बीमाको रकमको दायरा बढाउने थियो ।

मन्त्रीले आफ्ना भनाइ सार्वजनिक गरेलगत्तै पत्रकारहरुले पुराना मन्त्रीले जस्तै कार्यक्रम ल्याएको भनेर प्रतिप्रश्न गर्दै आलोचना गरेर। बजेट कहाँबाट ल्याउनुहुन्छ भनेर पत्रकारहरुको प्रश्न थियो । राज्यको स्वास्थ्यमा प्राथमिकता हुने हो भने बजेट बढाउनुपर्ने पत्रकारहरुको प्रश्न छ । मन्त्री पौडेलले बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् । मन्त्री पौडेलले बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने सो अवसरमा बताए ।

उनले स्रोत सुनिश्चिततका केही विषयहरु रहेको उल्लेख गरे । मन्त्री पौडेलले चिनीजन्य सामग्रीमा कर लगाएर भएपनि बीमामा रकम बढाउनेतर्फ आफ्ना योजना सुनाए ।

मन्त्रीको यो सार्वजनिक अभिव्यक्तिप्रति बाहिर पनि टिकाटिप्पणी सुरु भएको छ । कतिपयले सामाजिक सञ्जालमार्फत आफूले ल्याएको कार्यक्रमलाई लागु गरेर देखाउन चुनौती दिएका छन् ।

स्वास्थ्यमन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताए। साथै, उनले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने पनि जानकारी दिए।

Health Tips Ad Road Block