धादिङ । धादिङको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गजुरी गाउँपालिका, गाउँ सभाको १८ औं अधिवेशनमा सभा अध्यक्ष गणेशलाल श्रेष्ठले अधिवेशनको पहिलो बैठकमा आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्ता छन् नीति तथा कार्यक्रमका प्राथमिकताहरुः
क. गुणस्तरीय स्वास्थ्य तथा शिक्षा,
ख. उत्पादनशिल र आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास,
ग. उद्यमशिलता बढोत्तरी र सिप विकास,
घ. उत्पादनशिल र मर्यादित रोजगारी अभिवृद्धि,
ङ. वातावरण अनुकुलन एवम् दिगो पूर्वाधार विकास,
च. सार्वजनिक सेवाको सुदृढिकरण र सुशासनको प्रत्याभुति,
छ. दिगो, पूर्ण र उत्पादनशिल सामाजिक सुरक्षा र संरक्षणको प्रत्याभुति,
ज. स्वच्छ खानेपानी तथा सरसफाई,
झ. विकासका अवसरहरुमा समन्यायीक पहुँच,
ञ. लैङ्गिक समानता र सामाजिक समावेशीकरण आदि।
पालिकाले ८ वटै वडाहरुमा रहेका किसानहरुको पहिचान गर्नका लागि कृषक परिचयपत्र वितरण गर्ने नीति लिएको छ ।
सभामा उपाध्यक्ष शर्मिला बिसुरालले आगामी आव २०८३/०८४ को राजश्व र व्यय अनुमानसहित रु. ७३ करोड १५ लाख ४ हजारको बजेट सभामा पेश गरिन् ।
पालिकाले वडाहरुको लागि एकमुष्ट ८ करोड र गाउँपालिकाको पूर्वाधार निर्माण, सेवा प्रवाह र प्रशासन सञ्चालन तथा व्यवस्थापनकालागि ६५ करोड १५ लाख ४ हजार विनियोजन गरेको छ ।
सभाको बैठकबाट गजुरी गाउँपालिकाको आव २०८३/०८४ को नीति तथा कार्यक्रम र आर्थिक ऐन, २०८३ सर्वसम्मतिले पारित भएको छ ।
त्यस अवसरमा कार्यसम्पादनको आधारमा गजुरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत सन्तोष पौडेल र योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।





















