skip this News Page Tips Ad Road Block

अन्जनी जोशी भइन् कौसी क्वीन

काठमाडौं । कौसी खेती गरेर अन्जनी जोशीले कौसी क्वीनको उपाधि जितेकी छिन् । चौथो संस्करणको ‘कौसी क्वीन–२०८१’ को ताज जोशीले जितेकी हुन् ।

एक कार्यक्रमकाबीच कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले उनलाई विजेताको ताज पहिरिदिएकी हुन् । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता गर्दै आएकोमा २०८१ को चौथो संस्करणको ताज भने जोशीको हातमा परेको हो ।

यस संस्करणको कौसी क्वीनको फस्ट रनर अप गंगादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिरे र थर्ड रनर अप कमल माया श्रेष्ठ हुन पुगे । सबै विजेताहरुलाई मन्त्री साहसहित मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेश प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा शहरी क्षेत्रमा बसेर कौसी खेती गर्दै आएका २५ जना भन्दाबढीको सहभागिता रहेको थियो ।

पुरस्कार वितरण गर्दै मन्त्री शाहले कौसी खेती विस्तारमा सरकारले प्रोत्साहन गरेको भन्दै सातै प्रदेशमा कौसी खेती विस्तारमा सरकारले सोचिरहेको बताइन् । थोरै जग्गाको सदुपयोगको ज्ञान कौसी खेतीले दिलाईरहेको भन्दै मन्त्री साहले सरकारले युवालाई कृषिमा आकर्षित गराउने कार्यक्रम ल्याउने र देशैभर छिट्टै किसान कार्ड वितरण गर्ने तयारी भइरहेको बताइन् ।

मन्त्रालयका सचिव डा. मिश्रले कौसी खेतीले मानिसलाई आनन्द दिने, व्यस्त बनाउने, घरमा निस्किएका कुहिने फोहोरलाई कम्पोष्ट मलकोरुपमा प्रयोग गर्न उत्प्रेरित गर्ने, अर्गानिक उत्पादन दिने लगायत धेरै फाईदा रहेका कारण यसलाई प्रवद्र्धन गर्न मन्त्रालय पनि सँगै रहेको बताए ।

आयोजक प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बढ्दो शहरीकरणसँगै शहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती गरेर घरलाई पुग्ने तरकारी तथा फलफूल उत्पादन हुनसक्ने थुप्रै उदाहरण रहेको भन्दै यसलाई प्रवर्द्धन गर्न, कौसी खेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गरी अरुलाई पनि उत्प्रेरित गर्न आफूहरु लागिपरेको बताएका छन् ।

Health Tips Ad Road Block