skip this News Page Tips Ad Road Block

नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

काठमाडौं । नेपालमा समग्र क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु भएको छ । राजधानीमा एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ(आइटीएफ) मा आबद्ध नेपालका तीन मजदुर संगठन यूनिट्राभ, इटवन, नेटवनसँगको सहकार्य र सामाजिक संस्था उज्जल थापा फाउन्डेसनको समन्वयमा सर्वेक्षण शुभारम्भ भएको घोषणा गरिएको हो ।

सर्वेक्षण सुभारम्भ गर्दै यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले सर्वेक्षणले विभेद र कार्यथलोमा हुने गरेको हिंसा र विभेदबारे यथार्थ चित्रण बाहिर निकालेर त्यसको नतीजाले नीतिगतरुपमा सुझाव दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यथलोमा हुने गरेका हिंसा र पीडाबारे महिलाहरुले खुलेर सर्वेक्षणमा सहभागिता जनाउनुपर्ने भन्दै यसमा सबै यूनियनले हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । त्यस्तै नेटवनका अध्यक्ष धर्मराज भण्डारीले यातायात क्षेत्रमा रहेका महिलाहरुको अवस्थाको तथ्याँक संकलनमार्फत निस्कने निष्कर्षबाट यस क्षेत्रमा महिला हिंसा न्यूनिकरणका लागि प्रेरणादायी नतीजा निकाल्न सकिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इटवनका अध्यक्ष भिमज्वाला राईले नेपालको श्रम क्षेत्रमा रहेका महिलाहरुबारे कार्यस्थल र घरेलु हिंसाको रुप पत्ता लगाउन राष्ट्रिय सर्वेक्षणको थालनी गरिएको बताउँदै यसले नीति निर्माण गर्नेलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यो सर्वेक्षण देशभर पुगेर अध्ययन गरिने मजदुर संगठनहरुले बताएका छन् । यो २४ पेजको सर्वेक्षण फारम रहेको र प्रतिनिधिमुलक हुने मजदुर संगठनले जानकारी दिएका छन् । कार्यक्रममा उज्जल थापा फाउन्डेसनका उपाध्यक्ष गोविन्द नारायण तिमल्सिनाले नीति निर्माणका लागि यस किसिमको सर्वेक्षणमार्फत आउने तथ्याँक आवश्यक रहेको बताउनुभयो । सर्वेक्षणमा ६८ वटा प्रश्न राखेर तथ्याँक संकलन गरिनेछ । तीन महिनाभित्र देशभर सडक र हवाई यातायात क्षेत्रसँग सम्बन्धित विशेषत अनौपचारिक क्षेत्रका महिला श्रमिकहरुमाझ यो सर्वेक्षण गरिनेछ । आइटिएफ स्टेरिङ समूहका सदस्यहरु सरस्वती रिजाल, गिता श्रेष्ठ र रञ्जु थापाले कार्यस्थलमा हुने विभिन्न हिंसा अन्त्य गरेर त्यसलाई सम्बोधन गराउन सर्वेक्षण फलदायी हुने जानकारी दिँदै सरकारले आउने योजनामा यसबाट आवश्यक खाका कोर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना दिँदै संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा, जिफन्टकी उपाध्यक्ष सिता लामा, एनटिसियूकी उपाध्यक्ष राधिका कुँइकेल लगायतले घरदेखि नै दासजस्तो मानेर हुने हिंसादेखि कार्यस्थलमा हुने हिंसा, व्यक्तिले भोगेको हिंसा, व्यक्तिले दिने सेवामा हुने हिंसा र त्यसमा राज्य, रोजगारदाता एवं ट्रेड यूनियनका संगठनको बुझाइ लगायतको विषयमा सर्वेक्षणले उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सर्वेक्षणले एक वर्षमा पूर्ण नतीजा दिने बताइएको छ । कार्यस्थलमा कार्यरत अधिकाँश अनौपचारिक क्षेत्रमा कार्यरत ३ हजार भन्दा बढी महिलाबीच यो सर्वेक्षण गरिनेछ । सर्वेक्षणको नतीजा सरकारलाई बुझाउने कार्यक्रम रहेको छ । नेपालमा वि.सं. २०५१÷२०५२ सालदेखि सडक यातायात क्षेत्रमा महिलाको प्रवेश भएको पाइन्छ । सर्वेक्षण शुभारम्भ कार्यक्रमको संचालन आइटिएफ स्टेरिङ समूहकी सदस्य गिता श्रेष्ठले गर्नुभएको थियो भने आइटिएफ स्टेरिङ समूहका सदस्यहरु सरस्वती रिजाल र रञ्जु थापाले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न संगठनका सहभागी महिलाहरुलाई सर्वेक्षण फारम भर्नेसम्बन्धी आवश्यक प्रशिक्षण दिनुभएको थियो ।

Health Tips Ad Road Block