काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर चैत २० गते बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीले १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर निष्काशन गरेको हो । क्यापिटलका अनुसार आवेदन दिने ६० हजार ६ सय २ जना शेयरधनीलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता शेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले बिक्री नभएको ११ लाख ३५ हजार ६ सय ५७ कित्ता शेयर लिलाम चैत २९ देखि बिक्री गर्ने भएको छ । कम्पनीले यी शेयर वैशाख ९ गतेसम्म लिलाम बिक्री गर्नेछ । शेयर लिलाम बिक्रीका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको यो लिलामी शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम पुरै कित्ताको लागि पनि आवेदन दिन सकिनेछ। दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन भने ५ लाखभन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।