काठमाडौं । व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच निजी क्षेत्र सक्रिय हुने प्लेटफर्म आवश्यक भएको विषय उठान भएको छ । “साउथ एसिया ट्रेड फेयर २०२६” को उद्घाटनका क्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्राले देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको बताए । मेलाको कावा अध्यक्ष मल्होत्रा, नेपालका लागि बंगलादेशका राजदूत सफिक्वयर रहमान र श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि.को तत्वावधानमा आयोजित यस मेलामा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलंका लगायतका देशका करिब १५० प्रदर्शकहरू सहभागी रहेका छन् । मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरू बिक्रीका लागि राखिएको छ । साथै, व्यापारिक भेटघाट, फुड फेष्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको छ ।
उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्ने उदेश्यसहित आयोजित यस मेलाले विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने मेला संयोजक सुमन महर्जनले बताए । उनका अनुसार मेलामा झण्डै एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।
मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (इपीबी), नेपाल चेम्बर अफ कमर्स आदिको सहकार्य रहेको छ भने ईष्डोर्स पार्टनरमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालय रहेको छ । ५ दिनसम्म चल्ने यस मेला वैशाख २८ गते समापन हुनेछ ।






















