काठमाडौँ । राष्ट्रिय तथ्याँक कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आग्रह गरेको छ ।
आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याँक कार्यालयले आग्रह गरेको हो ।
मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले वैशाख २ देखि असार ७ गतेसम्म आर्थिक गणना कार्य भइरहेको छ । गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैङ्क तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्याँक संकलन गरिएको छ ।
व्यावसायिक रूपमा दर्ता भएका करिब चार लाख ८० हजार व्यापारिक संस्था हालसम्म उक्त आर्थिक गणनामा समावेश भएका छन् ।
यही वैशाख २२ गतेसम्म देशभर ३२ प्रतिशत आर्थिक गणना सम्पन्न भएको कार्यालयले जनाएको छ ।





















