काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ बमोजिम तोकिएका सिट आरक्षित गरी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
आरक्षण सिट कार्यान्वयन नभएको गुनासो बढेपछि विभागले सूचना सार्वजनिक गरेको विभागका सूचना अधिकारी गणेशमानसिंह राईले जानकारी दिए । कार्यान्वयनका लागि ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको पनि उनको भनाइ छ । कार्यान्वयन नगरे सवारी धनी र यातायात व्यवसायीलाई प्रचलित कानुन अनुसार कारबाही गरिने निर्देशनमा उल्लेख छ ।
विभागका अनुसार हरेक सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि चार वटा र महिलाका लागि दुई वटा सिट अनिवार्य रूपमा आरक्षित राख्नुपर्ने प्रावधान छ । स्थानीय, मध्यम तथा लामो दूरीका रुटमा चल्ने सवारीले आरक्षण सिटको कार्यान्वयन नगरिरहेको विभागले जनाएको छ । लामो दूरीमा चल्ने सवारीसाधनका हकमा गन्तव्य प्रस्थान गर्नुभन्दा कम्तीमा चार घण्टाअगाडिसम्म त्यस्ता सिट सुरक्षित राख्नुपर्ने व्यवस्थाको विभागले स्मरण गराएको छ ।






















