काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धीकरण कसुरमा अग्रवालमाथि विभागले अनुसन्धान गरिरहेको छ । अग्रवालमाथि विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको समयमा कालोबजारी गरेको, ठूलो मात्रामा कर तथा भ्याट छली गरेको, फिडरलाइनमा अनियमितता गरेको, गुणस्तरहीन वस्तु उत्पादन गर्दै उपभोक्ता ठगी गरेको र विद्युत् प्राधिकरणमा दुई अर्ब ६५ करोड रुपियाँ बक्यौता नतिरेको आरोप छ ।
सम्पत्ति शुद्धीकरण विभागले अग्रवाल, यसअघि पक्राउ परेका दिपक भट्ट र अन्य विवादास्पद व्यावसायीमाथि अनुसन्धान गरिरहेको छ ।






















