काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज असोज २ गतेदेखि हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । यसअनुसार शेयरधनीहरुले बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा शेयर लिन सक्नेछन् । बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन गर्नका लागि बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो । यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यसे हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । असोज २२ गतेसम्म यो हकप्रद शेयरका लागि आवेदन दिन मिल्नेछ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि हकप्रद शेयरका लागि आवेदन दिन सकिनेछ ।
हकप्रद शेयर निष्काशन तथा बाँडफाँड गरेपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।






















