काठमाडौं । पर्यटन व्यवसायीहरुको एक छाता सस्था सोट्टो नेपालले नेपाललाई सुरक्षित, शान्त र पर्यटनमैत्री गन्तव्य बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएको छ । हालै भएको प्रदर्शन र त्यसपछिका घटनाहरुलाई लिएर एक प्रेस विज्ञप्ति जारी गर्दै सोट्टो नेपालले पर्यटन क्षेत्रमा परेको नोक्सानीलाइृ तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने र आफ्ना आवाजहरु राख्ने नेपाली नागरिकहरुको संवैधानिक अधिकार रहेको र सोही क्रममा हालै देशमा जेनजी पुस्ताले आह्वान गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौँ लगायत देशका विभिन्न भागमा भएको घटना र शोबाट हुन गएको मानवीय क्षतिप्रति सोट्टो नेपालले दुःख व्यक्त गरेको छ । सोही क्रममा मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक समवेदना एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना सोट्टो नेपालले गरेको छ । सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएकोमा संस्थाले धन्यवाद समेत दिएको छ ।
विज्ञप्तिमार्फत संस्थाले भनेको छ, ‘आन्दोलनकाक्रममा देशभर सरकारी तथा निजी सम्पत्तिहरू आगजनी भएका छन् र देश विकासका आधारभूत संरचनाहरू ध्वस्त बनाइएका छन्। आन्दोलनका क्रममा भएको अराजकताले गर्दा नेपाल पर्यटकहरूको लागि असुरक्षित देशमा पर्ने भन्ने चिन्ताले पर्यटन व्यवसायीहरुलाई चिन्तित तुल्याएको छ। नेपालको राजनीतिक अस्थिरताले पर्यटनमा ठूलो असर परेको छ। आन्दोलनका क्रममा विभिन्न होटल तथा पर्यटकीय संरचनाहरू जलाएका छन् र क्षतिग्रस्त भएका छन्। अर्बाैं रुपैयाँ बराबरको लगानी संकटमा परेको छ जसले लगानीकर्ताको विश्वासमा ठूलो आघात पुर्याएको छ। हजारौं कामदार होटल यातायात ट्राभल एजेन्सी र रेस्टुरेन्ट क्षेत्रमा बेरोजगार हुने र रोजगारी गुमाउने जोखिममा पुगेका छन्। पर्यटक आगमनमा तीव्र गिरावट आएको छ जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा असुरक्षित गन्तव्यका रूपमा देखाउने खतरा बढेको छ। अन्तर्राष्ट्रिय ब्रान्डका होटल रिसोर्ट ट्राभल व्यवसायहरू प्रत्यक्ष नोक्सानमा परेका छन् जसले पर्यटन क्षेत्रमा ठूला लगानीकर्ताहरुलाई डरको स्थिति सिर्जना गरेको छ। यसले गर्दा साना उद्यम मात्र नभई लाखौं मानिसहरुको रोजगारी अप्रत्यक्ष संकटमा भएको छ।’
‘अबका दिनहरुमा नेपाललाई पुन स्थायित्व र विश्वास दिलाउन तत्कालीन कदमहरु चाल्दै अघि बढ्नु आवश्यक देखिन्छ। पीडित परिवारलाई क्षतिपूर्ति र समर्थन गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुलाई उपचार सहयोग दिनु जरुरी देखिन्छ। लोकतन्त्रमा बोल्ने अधिकार सुनिश्चित गरिएको हुनाले आन्दोलन र अभिव्यक्तिको अधिकारलाई सम्मान गर्दै शान्तिपूर्ण वातावरणमा राजनीतिक समाधान खोज्न जरुरी देखिन्छ।’ सोट्टो नेपालले भनेको छ ।
पर्यटन व्यवसायीहरुमा पर्न गएको व्यावसायिक कठिनाइ र नोक्सानीहरुप्रति सोट्टो नेपालले चिन्ता व्यक्त गर्दै यो विपतको घडीमा सबै एकजुट भई हातेमालो गर्दै अघि बढ्न पनि अनुरोध गरेको छ । पर्यटनमा परेको ठूलो नोक्सानीलाई तत्काल सम्बोधन नगरेसम्म नेपालले आर्थिक पुनरुत्थानमा ठूलो कठिनाइ बन्ने भन्दै सोट्टो नेपालले सबै सरोकारवाला पक्ष एकजुट भई शान्ति स्थायित्व लगानीमैत्री वातावरण र युवाप्रति उत्तरदायी राजनीतिक प्रणाली निर्माण गर्न अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएको छ । ‘हामी पीडित परिवारसँग ऐक्यबद्ध छौं र नेपाललाई फेरि सुरक्षित शान्त र पर्यटन मैत्री गन्तव्य बनाउन प्रतिबद्ध छौं।’ विज्ञप्तिमा सोट्टो नेपालले भनेको छ ।






















