काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो आन्दोलनका कारण नेपालको अर्थतन्त्रमा ठूलो बज्रपात परेपनि निजी क्षेत्र अझै सशक्त भएर अगाडि बढ्न तयार रहेको बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कारमा मल्लले पछिल्लो समय सुझवुझ ढंगले अगाडि बढ्नुपर्ने सुझाव दिए । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न अर्थविदहरुले सुझाव दिइरहेको सन्दर्भमा उनले पनि त्यसमा जोड दिए । देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नुपर्ने अर्थविदसँगै मल्लको सुझाव छ ।
मल्लले अहिलेको आन्दोलनको कारण नेपालको अर्थतन्त्रमा ठूलो वज्रपात भएको भएपनि आफूहरु नभाँचिएको स्पष्ट पारेका हुन् । उनले भने,‘हाम्रो मुलुकमा पटक–पटक हरेक १० वर्षमा उथलपुथल भयो । भूकम्प, कोभिडपछि अहिले फेरि ठूलो उथलपुथल भयो । हाम्रो अर्थतन्त्र विस्तारै तँग्रिँदै थियो, फेरि ठूलो बज्रपात भयो । नेपालमा आर्थिक स्थायित्व डगमगायो, हल्लियो । हामी भाँचिएका छैनौं । निजी क्षेत्र दरिलो रूपमा अघि बढ्न तयार छ । निजी क्षेत्रलाई स्वदेशमा काम गर्ने वातावरण गर्नुपर्छ ।’
निजी क्षेत्रमा आक्रमण गर्ने काम भएको भन्दै दुःखेसो पोखे । सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालतजस्ता भवनको पूर्वाधार पनि नेपाली जनताले थोपा थोपा योगदान गरेर बनाएको उनले स्मरण गर्दै भने, ‘तोडफोड, आगजानी जसले गरेको हो त्यसलाई कानूनी दायरमा ल्याउनुपर्छ । जेन–जी आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ, जसले गल्ती गरेको छ उसलाई सजाय हुनुपर्छ ।’
उनले देशकाे नेतृत्वमा पुगेकाहरुले मपाईंत्व गरेको र बुढो भएपछि पनि समयमा रिटायरमेन्ट नलिएको भन्दै यसअघिको विकृतिको भण्डाफोर गरे । यसअघिका सरकारले विज्ञहरुको सल्लाह, सुझाव ग्रहण नगरेको भन्दै नयाँ सरकारले सबैको राय, सल्लाह र सुझाव लिनुपर्नेमा उनको जोड रहेको छ ।






















