काठमाडौं । दशै, तिहार लगायत मुख्य चाडपर्वमा लक्षित गरी चीनबाट सामान ल्याइने कन्टेनर अब उपल्लो मुस्ताङको कोरला नाका प्रयोग गर्दै नेपाल भित्र्याइने भएको छ । नाकाबाट हालसम्म आउने सामानमा लत्ताकपडा, जुत्ता चप्पल र विद्युतीय गाडी रहेको बताइएको छ ।
बाढी र पहिरोका कारण चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी र रसुवा पूर्णरुपमा ठप्प बनेपछि वैकल्पिक मार्गकारुपमा उपल्लो मुस्ताङको लोमान्थाङ–१ कोरला नाका हुँदै नेपालमा सामान ल्याइन लागिएको हो ।
तत्काल रसुवा र तातोपानी नाका सञ्चालनमा आउने सम्भावना कम देखिएपछि नेपाली व्यापारीले चाडबाड लक्षित कन्टेनरहरु नाकामा रहेको चिनियाँ भन्सारमा आउन थालेको कोराला भन्सार कार्यालयको भनाइ छ । सोहीअनुसार त्यहाँ जनशक्ति थप गर्ने कार्य थालिएको छ । त्यहाँ रहेको नेचुङ भन्सार कार्यालयमा आउने सामान कालीगण्डकी कोरिडोरको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै बाहिरिने छ ।
जिल्ला प्रशासन कार्यालयले नाकाबाट बाहिरिएका सामानको सुरक्षासहित आवश्यक समन्वय गर्ने बताएका छ । रसुवा नाका गत असार २४ देखि बन्द छ भने कोदारी क्षेत्रको सडक पहिरोका कारण तातोपानी नाका बिग्रिएको छ । यसपटक वैकल्पिक रुपमा प्रयोग गरिने नाकालाई आगामी दिनमा ब्यवसायिक रुपमा सञ्चालन गर्न समेत माग गरिएको छ ।






















