काठमाडौ. । माछापुच्छ्रे बैंक लिमिटेडको सत्ताइसौं वार्षिक साधारण सभा असोज १० गते पोखरामा हुने भएको छ । बैंक सञ्चालक समितिको ५३७ औं बैठकले सत्ताइसौं वार्षिक साधारण सभा असोज १० गते शुक्रबार बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पादी, पोखरा, कास्कीमा हुने तय गरेकाे हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बराबरको बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २७ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ।
त्यस्तै बैंकको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरुसहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र नियुक्तीका शर्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रचलित कानुनी एवं नियमनकारी व्यवस्थाहरुको अधिनमा रही प्रति शेयर रु. १०० का दरले तीन अर्व बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यसैगरी बैंकको अधिकृत पूँजी पन्ध्र अर्बलाई वृद्धि गरी बीस अर्ब पुऱ्याउने विशेष प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।





















