Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आगामी मंसिरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश योजना आयोगका सदस्यसहित आईतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सम्मेलनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाई छ ।

उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक श्रोतको अथाह सम्भावना रहेका छन् । नीतिगत सुधार भयो भने निजी क्षेत्र आफै लगानी गर्न आउँछन् । प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीतिहरु बन्न आवश्यक छ । पानी र लगानी एउटै प्रकृतिको हुन्छ जता ओरालो रहन्छ उतै बग्ने गर्दछ । ’

सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत, कृषि उत्पादन, पर्यटन र सीमा–पार व्यापारमा उच्च सम्भावना रहेको छ । पञ्चेश्वर, कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अध्यक्ष अग्रवालले बताए ।

प्रदेश कृषि–प्रधान भएकाले धान, मकै, गहुँ, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात–केन्द्रित लगानी आकर्षण गर्न सकिने चेम्बरले उल्लेख गरेको छ ।

लगानी सम्मेलनमा नीति तथा लगानी–मैत्री वातावरण निर्माण गर्न कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक–निजी साझेदारी (पीपीपी ) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ । वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने चेम्बर अध्यक्ष अग्रवालले बताए । ।

२००७ सालमा स्थापना भएको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक तथा औद्योगिक गतिविधी विस्तारलाई संधै उच्च प्राथमिकतामा राख्ने अध्यक्ष अग्रवालले बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि चेम्बरको सहयोग महत्वपूर्ण रहेको र सहकार्यका लागि प्रस्ताव गरे । उनले प्रदेशमा पहिला आन्तरिक लगानीको वातावरण तय गरेर मात्रै बाह्य लगानीका लागि सरकारले पहल गर्ने बताए । प्रदेशमा लगानीको अथाह सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहले रोजगारी सृजना र छिमेकी देशको बजारमा सुदूरपश्चिमको उत्पादनहरु पुर्याउने लक्ष्य रहेको बताए ।

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रदेशमा बाँझो जमिनलाई सदुपयोग गर्नेगरी सामूहिक खेती प्रणालीका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए । विदेशबाट सीप सिकेर फर्किएका युवाहरुको लगत संकलन गरी प्रदेश सरकारले लाभ लिन सक्नुपर्ने उनको भनाई छ । कृषि, जलविद्युत, पर्यटन र जडिबुटीलाई आधार मानेर सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि अगाडि ब्नुपनर्ने उनको सुझाव थियो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले प्रदेशमा जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । अर्थतन्त्र चलायमान गराउन रियलस्टेटमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम योजना आयोगका सदस्य नृप सुनुवारले त्यहाँको अवस्थिति र सम्भावनाबारे प्रस्तुति राख्दै लगानीका लागि चेम्बरलाई आग्रह गरेका थिए । अन्य वक्ताहरुले सुदूरपश्चिमको सुन्दर भविष्यबारे चर्चा गरेका थिए ।

Health Tips Ad Road Block