काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते आज देखि १८ गते सम्मको ५ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् । भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिनु रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।
शाङ्घाई सहयोग संगठन (एससिओ), सन् २००१ मा स्थापना गरिएको आज विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मंगोलिया दुई देश पर्यवेक्षक राष्ट्रहरू हुन् ।
नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।
नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । ‘हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवं यस मार्फत् अत्याधिक लाभ हासिल गरी नेपालको हित प्रवर्द्धन गर्नु रहेको छ ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
चीनमा रहँदाकाे कार्यतालिका यस्तो छ !
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेट हुने कार्यक्रम रहेको छ । बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि प्रधानमन्त्रीकाे भेट हुने कार्यक्रम छ । त्यस्तै चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ १६ तदनुसार २०२५ सेप्टेम्बर १ थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ । सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नेछन् ।
एससिओ शिखर सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने प्रधानमन्त्रीको भनाइ छ । थियानजिनबाट सोही दिन प्रधानमन्त्री ओली बेइजिङ्ग जाने कार्यक्रम छ ।
रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको प्रधानमन्त्री ओलीले संसदमा जानकारी गराएका थिए ।
अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भदौ १८ गते तदनुसार २०२५ सेप्टेम्बर ३ का दिन चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फाँसिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ । चीन सरकारले जानकारी दिए अनुसार ५० भन्दा बढी देशले यो कार्यक्रममा सहभागिता जनाउने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।
यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने प्रधानमन्त्रीको विश्वास रहेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी भएका छन् ।






















