Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इक्यानकाे २९ औँ वार्षिकोत्सव: सरकारले यो व्यवसायप्रति कुनै आशंका गर्नुपर्दैन-शैक्षिक परामर्श व्यवसायी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ(इक्यान) २९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा इक्यानले २९ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सवमा प्रमुख अतिथि थिए सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ । गुरुङले वार्षिकोत्सवमा आफ्ना धारणा राख्दै इमानदार नेता र अनुशासित नागरिकको पहलबाट देश विकासमा जुट्नुपर्ने आवश्यकता औंल्याए । विकासका लागि सुशासन र समृद्धिका पक्षमा आफूहरु रहेको भन्दै उनले उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेश जानु ठिक भएपनि युवालाई विदेश पठाउने मात्रै होइन स्वदेश फर्काउने अभियान पनि ल्याउन इक्यानलाई आग्रह गरे । त्यस्तै नेपाललाई शैक्षिक हब बनाउने आधार तयार गर्न इक्यानलाई उनको सुझाव थियो । यसका लागि शिक्षा नीति, ऐन र कानुनको समयसापेक्ष परिमार्जन गर्दै जानुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा थिए गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी । दुवाडीले स्वदेशमा युवाको उत्साह मर्न नदिन सबै लाग्नुपर्ने धारणा राखे । उनले शैक्षिक परामर्श व्यवसायीहरुमाथि आशंका व्यक्त गर्दै अहिले वातावरण धुमिल रहेको भन्दै पारदर्शी बनाउन भने । कानुन मानेर सबैलाई दर्ता भइ सञ्चालन गर्न र सबैले अनुभुत गर्ने राम्रो सेवा दिनुपर्नेमा व्यवसायीलाई सुझाए । आफैंले जानेर यस क्षेत्रलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष एवं नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) का पूर्व अध्यक्ष राजेन्द्र बरालले यो क्षेत्र व्यावसायिक रुपमा अगाडि बढिरहेको दाबी गरे । अध्यक्ष बरालले २९ वर्ष अगाडिका दिन सम्झँदै यो पेशालाई भरपर्दो र मर्यादित बनाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । यो क्षेत्रलाई बद्नाम गर्नेहरुप्रति खबरदारी गर्नुपर्ने भन्दै उनले गैरकानुनी परामर्श सेवा दिनेलाई कारबाही गरेर व्यवसायलाई मर्यादित बनाउनुपर्ने र सम्मानित बनाउनुपर्ने धारणा राखे । अब विदेशी विद्यार्थी नेपालमा ल्याएर पढाउन आफूहरु तयार रहेको भन्दै वातावरण बनाइदिन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले विश्वभर नेपाली विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाउनु र नवीन कार्यमा प्रतिष्ठित हुँदै जानु इक्यानको आजको सफलता भएको बताए । यसलाई सरकारले सकारात्मक रूपमा लिनुपर्नेका उनको आग्रह छ । गृहसचिव गोकर्णमणि दवाडीले शैक्षिक परामर्श व्यवसायीप्रति आशंकाको शब्द बताइरहँदा अध्यक्ष भट्टराईले भने, ‘नेपालका विद्यार्थीहरुको इनोभेसन र जुन तरिकाबाट नेपालका विद्यार्थीहरु ग्लोबल कम्पिटेन्ट बन्नको लागि क्षमता राखिरहेका छन् यसले नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायले हामीप्रति प्राउड फिल गर्ने बेला आएको छ ।’ उनले भने, ‘ इक्यानमा आबद्ध साथीहरूको कारणले गर्दाखेरि आज विश्वमा नेपाली विद्यार्थीहरु ग्लोबल कम्पिटेन्ट मात्र गर्दैनन् यो देशको लागि एउटा शक्तिको रुपमा अगाडि बढेका छन् । यो गौरवको विषय हो । त्यसैले सरकारले धेरै आशंका गर्नुपर्दैन ।’ पूर्व अध्यक्षहरुलाई स्मरण गर्दै अध्यक्ष भट्टराईले नेपालको इतिहासमा यो संस्था ठूलो संस्था भएको बताए । आज यसैको बलमा महासंघ गठन भएको र आगामी दिनमा यस क्षेत्रका समस्यासँग जुध्न सबै एकजुट हुनुपर्ने उनले बताए ।

अन्य निजी क्षेत्रका प्रतिनिधि एवं अन्य वक्ताहरुले इक्यानको आगामी सफलताको शुभकामना व्यक्त गर्दै इक्यानको योगदानको प्रशंशा गरेका थिए ।

इक्यानमा हाल ७ सय ७ जना सदस्यहरु आबद्ध छन् ।

Health Tips Ad Road Block