विराटनगर । वर्षायाम प्रारम्भ भएसँगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएका सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौपटक भईरहेको ट्रिपिङका कारण प्रताडित भएका छन् । वर्तमान समयमा एकातिर नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गर्ने भनि प्राधिकरणले भनिरहँदा अर्कातिर स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतिको मार खेप्न वाध्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन् । दैनिक निरन्तर भईरहने ट्रिपिङले उद्योगको मिल मेशिनेरीमा बिग्रन गएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको उद्योगी व्यवसायीको गुनासो सम्वन्धित निकायलाई वारम्वार सुनाउदा समेत समस्या समाधानमा ठोस पहल नभएकोमा संगठनका अध्यक्ष राठीले चिन्ता व्यक्त गरे ।
उनले वर्षायाम सुरुभएसँगै औद्योगिक करिडोरमा निरन्तर विद्युत आपूर्ति हुने आशामा रहेका उद्योगी व्यवसायीको आशा विपरित हाल दैनिक कैयौंपटक भईरहेको ट्रिपिङका कारण निराश बढ्दै गएको वताए । उनले सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न विद्युत प्राधिकरणलाई सम्वेदनशिल हुन आग्रह गरे ।
संगठनले यसअघि हरेक वर्ष सुख्खायाममा विद्युत आपूर्ति अवरोध हुँदा उद्योग व्यवसायले भोग्नु परेको आर्थिक क्षतिको तथ्यांकसहित प्राधिकरणको बारम्वार ध्यानाकर्षण गराउँदा समेत नियामक निकायबाट समाधानको ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै यसको जिम्मेवारी कसले लिने ? भनि उनले प्रश्न गरे । साथै अध्यक्ष राठीले हाल देखिएको ट्रिपिङको समस्यालाई समाधान गर्नर आगामी सुख्खायाममा आउन सक्ने विद्युत अभावको समस्यालाई सम्वोधन गर्न अहिले देखि काम गर्न अनुरोध गरे ।






















