skip this News Page Tips Ad Road Block

‘संचालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामापछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै संघले धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतलाई ध्यानाकर्षण गराएको हो ।

निर्जीवन बीमा व्यवसायीसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौं ।’

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लले ‘संचालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’ भएकाले सो प्रावधान सच्याउनका लागि आग्रह गरिएको बताए ।

लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र संचालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए ।

संचालकहरुले अन्य शेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरुलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ ।

कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायासी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत नियामक निकायलाई जानकारी दिई शेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’

शेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ ।

Health Tips Ad Road Block