काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक तेस्रो त्रैमाासिक अबधिसम्ममा नाफामा छलाङ मारेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख ९७ हजार ५ सय ६६ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा कम्पनीले ४ करोड ४८ लाख ३ हजार ६ सय ५५ रुपैयाँ मात्रै यस्तो नाफा कमाएको थियो । गतवर्षको तुलनामा चैत मसान्तसम्ममा कम्पनीको खुद नाफा ६८८.९९ प्रतिशतले बढेको छ ।
चैतसम्ममा कम्पनीले बिजुली बिक्रीबापत १ अर्ब १९ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९५ करोड १८ लाख रुपैयाँ मात्रै आम्दानी भएको थियो । यो गतवर्षको तुलनामा २५.७६ प्रतिशतको वृद्धि हो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.२५ रुपैयाँबाट बढेर ७.७६ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १०५.२० रुपैयाँबाट बढेर १०९ रुपैयाँ ८५ पैसा पुगेको छ। कम्पनीले विभिन्न ६ वटा जलविद्युत र सोलार आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले ८.५ मेगावाटको नौगड गाड, ८ मेगावाटको अप्पर नौगाड, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार, १ मेगावाटको ढल्केवर सोलार, १ मेगावाटको सिमरा सोलार र ४० मेगावाटको माथिल्लो चमेलिया हाइड्रोपावरबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।