काठमाडौं । संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा दस्तुर वा शुल्क लिन नपाइने व्यवस्थाबारे स्मरण गराइएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गरी यसबारे स्मरण गराएको हो ।
राष्ट्र बैंकको विज्ञप्तिमा भनिएको छ, ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धमा सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८, विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसायसम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ/महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।’
सुनचाँदीको व्यवसायसँग सम्बन्धीत संघ तथा महासंघहरुले सिफारिस गर्दा व्यवसायीबाट शुल्क लिँदै आएका छन् । नयाँ सूचनाले उनीहरुले यस्तो शुल्क लिन नपाउने स्पष्ट पारिएको हो ।