skip this News Page Tips Ad Road Block

आजदेखि तरकारी तथा फलफूलको बजार सामान्य बन्दै जाने, महँगी घट्ने

काठमाडौं । केही दिनको निरन्तर वर्षाले कालिमाटी लगायत अन्य तरकारी बजारको आगमन प्रभावित भएपछि राजधानी उपत्यकामा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको थियो । शनिबार र आइतबारको तरकारी तथा फलफूलको आगमन प्रभावित हुँदा बजार महँगी भएको हो ।

यो महँगी मंगलबारदेखि भने सामान्यतर्फ उन्मुख हुँदै जाने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार सामान्य दिनमा साढे छ सयदेखि ७०० टन सामान कालिमाटी बजारमा आउने गर्दछ । आइतबार १८० टन र शनिबार १५६ टन मात्रै सामान भित्रिएको छ । यसले माग आपूर्तिको असन्तुलन हुँदा बजार महँगी भएको हो । तर मंगलबारदेखि यो अवस्था समान्य हुँदै जाने उनको अनुमान छ । उनले भने, ‘सोमबारदेखि बाटो खुलेका कारण सामान आउने क्रम सुरु भएको छ बाटोमा अल्झिएका गाडीहरू आउनेक्रम भइरहेको छ । आलु र प्याजका गाडीहरू आइरहेका छन् । सोमबार मात्रै आलु प्याज लगायत साढे ४०० टनभन्दा माथिको सामान बजारमा भित्रिसकेको छ । बाटो खुल्नेक्रम सुरु भएको र स्थानीय जिल्लाहरूमा उत्पादित तरकारी, फलफूल दिउँसो र रातिको समयमा आउनेक्रम रहेकाले आपूर्ति बढेर मूल्य घट्दै जानेछ ।’

‘माग र आपूर्तिको सन्तुलन बिग्रेका कारण केही दिनयता सामान अभावले तरकारी, फलफूलको मूल्य माथि गएको थियो। मङ्गलबारदेखि आपूर्ति बढेर मूल्य घट्छ र सामान्य बन्दै जानेछ । तरकारी र फलफूलजन्य सामग्रीको अभाव हट्दै जानेछ।’

सामान्यतया कालिमाटी तरकारी बजारमा ७० प्रतिशत स्वदेशी उत्पादन र ३० प्रतिशत विदेशी उत्पादन (भारतबाट) तरकारी तथा फलफूल आउने गर्दछ । ताजा तरकारीहरू अधिकाँश आन्तरिक उत्पादनबाट अधिकांश धानिने गरेको छ। प्याज, आलु, कागती, फलफूल लगायतका सामग्री भने बाहिरबाट आयात हुँदै आएको छ ।

बाढी पहिरोका कारण कालिमाटी बजारलाई भौतिकरुपमा असर नगरेको बजार विकास समितिले जनाएको छ । राजधानीका बल्खु लगायत अन्य बजार भने नराम्ररी प्रभावित भएका छन् । राजमार्गको राम्रो अवस्था नभएकाले पहिलेको स्थितिमा बजार आइपुग्न केही दिन अझै लाग्नेछ ।

Health Tips Ad Road Block