काठमाडौं । वर्षा, बाढी, पहिरो लगायतका कारण निजी क्षेत्रबाट प्रवद्र्धित देशका विभिन्न १६ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले जनाएअनुसार सबैतिर सम्पर्क हुन नसकेको तर प्राप्त सूचनाअनुसार १६ आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको हो ।
इप्पानले दिएको जानकारीअनुसार क्षतिग्रस्त केही जलविद्युत आयोजनाहरुको प्रारम्भिक विवरण यस्तो छ ।
१) मान्डू हाइड्रोपावरद्वारा प्रवद्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको) ।
२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) ।
३) पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुननिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) ।
४) साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवकर्समा क्षति, उत्पादन बन्द) ।
५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द) ।
६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) ।
७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) ।
८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) ।
९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लमजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) ।
१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादिङ, (पहुँचमार्गमा ठूलो क्षति) ।
११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) ।
१२) हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) ।
१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) ।
१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) ।
१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) ।
१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) ।
इप्पानले कतिपय जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुन नसकेको जनाएको छ ।