काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आज देशभर धुमधामका साथ मनाइँदै छ । आज बिहानैदेखि आराध्येदेव पशुपतिनाथ मन्दिरमा भीड लागेको छ ।
आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लागेको छ । यही अवसरमा विभिन्न अराजक गतिबिधि हुनसक्नेतर्फ सचेत गराउँदै पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजमा महादेव पशुपतिनाथको मन्दिरमा लाखौं भक्तजनले अवलोकन गर्ने भएकाले भिडभाडमा आउँदा बहुमूल्य गहना नलगाउन र महँगो मोबाइल नबोक्न आग्रह गरेको छ ।
कोषले तीजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन उचित तरिकाले गरिएको र अत्याधिक भीड हुने भएकाले सकभर गरगहना नलगाउन र साना बालबच्चा नलिइकन आउन पनि भनेको छ । पाकेटमारी र लुटपाट हुनबाट जोगिन आवश्यक रहेको भन्दै प्रहरीले पनि भिडभाड हुने स्थानमा जाँदा बहुमूल्य गहना नलगाउन र महँगो मोबाइल नबोक्न अनुरोध गरेको छ ।
कोषले आजका लागि पशुपतिनाथ आउने दर्शनार्थीहरूले चार स्थानबाट दर्शन गर्नसक्ने व्यवस्था मिलाएको छ ।
कोषले दर्शनका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाएको छ ।
यस्तै मित्रपार्क–जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।
यस्तै पिङ्गलास्थानबाट वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई ६४ सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी तिलगङ्गा–राम मन्दिर हुँदै बाग्मती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएको र दर्शनार्थीको उल्लेख्य भिड रहेको छ । कोषले तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली ठाउँ र गुह्येश्वरी पारिको खाली ठाउँमा दर्शनार्थीहरूको गाडी पार्किङ गर्ने व्यवस्था मिलाएको छ ।