काठमाडौं । प्रत्येक वर्ष दशैंका लागि नयाँ नोट दिँदै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक भने नयाँ नोटको सट्टा सुकिला नोट दिने भएको छ । दशैं तिहारको लागि हरेक वर्ष नयाँ नोट साट्दै आएको केन्द्रीय बैंकले खर्च व्यवस्थापनलाई ध्यान दिँदै सुकिला पुराना नोटले काम चलाउने व्यवस्था गर्न लागेको हो ।
त्यसअनुरुप यसपाली राष्ट्र बैंकले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने भएको छ । अब बजारमा पुगेर आएका सुकिला नोट नै यसपाली नयाँ नोटका रुपमा पुनः बजारमा जाने छ ।
दशैं ठूलो चाड, नयाँ लुगा, नयाँ नोटको प्रचलन रहेको नेपाली मनोविज्ञान विस्तारै परिवर्तन हुँदै जाने र डिजीटल कारोबारलाई प्रोत्साहन गर्न पनि नयाँ नोटको कारोबारलाई निरुत्साहित गर्ने अवस्थामा राष्ट्र बैंक पुगेको हो । यसअनुसार सर्वसाधारणले दशैं तिहारका लागि सुकिला नोटहरु बैंकमार्फत सटही गर्न सक्नेछन् ।
दशैं तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सर्वसाधारणले अधिक मात्रामा साट्ने गरेका छन् । यसअनुसार प्रतिव्यक्ति १८ हजार पाँच सयको सुकिला नोट सटहीको सुविधा गर्ने तयारी राष्ट्र बैंकको छ ।