काठमाडौं । आगामी भदौं २७ र २८ गते काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन हुन लागेको हो । लगानी बोर्डको कार्यालय र युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) सह-आयोजक रही नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण हुनेछ ।
परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको जानकारी दिँदै दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको परिसंघको भनाइ छ ।
रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको हो । सम्मेलनबारे जानकारी दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको बताए । पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के-के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए ।
सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने परिसंघले जनाएको छ ।
सम्मेलन सह-आयोजक लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरु पूर्वाधार सम्मेलनमा पनि राखिने बताए । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको उनले बताए ।
पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच सम्मेलनमा गहनरुपमा छलफल हुनेछ ।
‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने परिसंघ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए । सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरु, लगानीकर्ताहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरुबाट प्रस्तुती हुनेछ । यस सम्मेलनमा विभिन्न प्रदेश तथा महानगरपालिकाहरुले अगाडि बढाएका परियोजनाहरुको प्रोजेक्ट सोकेस पनि हुने परिसंघले जनाएको छ ।
सम्मेलनको टाइटल स्पोन्सर बीवाईडी रहेको छ भने को स्पोन्सर (वील्ट एण्ड ट्रष्ट) मा शिवम् सिमेन्ट रहेको छ ।