काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ पुगेको छ । ११ महिनामा व्यापारघाटा १५.६७ प्रतिशतले बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष यही अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ पुगेको थियो ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ भएको छ । गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाखको आयात भएको थियो । यस्तै ११ महिनामा निर्यात १२.२८ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सो अवधिमा दुई खर्ब ४७ अर्ब ५७ करोडको निर्यात भएको थियो ।
यस वर्ष कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख पुगेको छ । गत वर्ष सो अवधिमा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रहेको थियो ।
विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै दुई खर्ब ९७ अर्ब १४ करोड ४४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै एक खर्ब १९ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ र ५५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको छ । यस अवधिमा मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । ११ महिनामा एक खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।
यस्तै १२ अर्ब एक करोडको अलैँची, नौ अर्ब ३८ करोड बराबरको कार्पेट, सात अर्ब ९९ करोडको सूर्यमुखी तेल, छ अर्ब १४ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको तथ्याङ्क छ ।
११ महिनामा सबैभन्दा धेरै भारतबाट १० खर्ब ९२ अर्ब २२ करोड ४४ लाख रुपैयाँको आयात हुँदा भारततर्फ दुई खर्ब २८ अर्ब १३ करोड १८ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै चीनबाट तीन खर्ब ८२ अर्ब २४ करोड ९६ लाख रुपैयाँको आयात हुँदा नेपालबाट १५ खर्ब ९४ करोड ४४ लाखको निर्यात भएको छ ।





















